मानव आवाज

२०८३ श्रावण १ गते
00: 00: 00
२०८३ श्रावण १ गते

उच्च अदालत पोखरामा लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट

पोखरा ।  उच्च अदालत पोखराले आर्थिक वर्ष २०८२/८३ मा मुद्दा फर्स्योटतर्फ उल्लेखनीय प्रगति हासिल गरेको २०८३ साउन १ गते पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

उच्च अदालत पोखराका मुख्यन्यायाधीश डा. रत्नबहादुर बागचन्दले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै अदालतले न्याय सम्पादनलाई प्रभावकारी बनाउन उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनु भयो ।

मुख्यन्यायाधीश बागचन्दका अनुसार अदालतमा जिम्मेवारी सरेका ५ सय ७० र नयाँ दर्ता भएका २ हजार १ सय २१ गरी कुल २ हजार ६ सय ९१ मुद्दामध्ये १ हजार ५ सय ७० मुद्दा फर्स्योट गरिएको छ भने ४ सय ९१ मुद्दा बाँकी रहेका छन् । यससँगै यथार्थ फर्स्योट प्रतिशत ७५.५८ प्रतिशत पुगेको छ ।

वार्षिक रूपमा २ हजार ७५ मुद्दा फर्स्योट गर्ने लक्ष्य रहेकामा १ हजार ५ सय ७० मुद्दा फर्स्योट गरी लक्ष्यको ७५.६९ प्रतिशत उपलब्धि हासिल भएको मुख्य न्यायाधीश बागचन्दले बताउनु भयो ।

उनका अनुसार बाँकी रहेका ४ सय ९१ मुद्दामध्ये ३ सय १४ मुद्दा ६ महिनाभित्रका, १ सय ६९ मुद्दा ६ महिनादेखि एक वर्षभित्रका र आठ मुद्दा एक वर्षदेखि १८ महिनाभित्रका छन् । १८ महिनाभन्दा पुराना कुनै मुद्दा बाँकी नरहेको उहाँले बताउनु भयो ।

अदालतमा रहेका ४ सय ५५ प्रतिवेदनमध्ये ४ सय ४४ प्रतिवेदन फर्स्योट भई ११ प्रतिवेदन मात्र बाँकी रहेका छन् । मेलमिलाप सेवामार्फत २ सय ८० मुद्दा पठाइएकामा ३८ मुद्दामा सफल मेलमिलाप भएको छ भने सफलता दर १३.५७ प्रतिशत रहेको छ ।

डिजिटलाईजेसनतर्फ २ हजार ५ सय फाइल डिजिटलाईजेसन गर्ने लक्ष्य रहेकामा २ हजार ५ सय २४ फाइल डिजिटलाईजेसन सम्पन्न भएको तथा हालसम्म कुल २५ हजार ४ सय ९१ फाइल डिजिटलाईजेसन गरिएको मुख्यन्यायाधीश बागचन्दले जानकारी दिनु भयो ।

उच्च अदालत पोखराका रजिस्ट्रार रामु शर्माले तीन वर्षको प्रगति हेर्दा आर्थिक वर्ष २०८०/८१ मा ५४.४७ प्रतिशत रहेको फर्स्योट दर २०८१/८२ मा ६५.०७ प्रतिशत र २०८२/८३ मा ७५.५८ प्रतिशत पुगेको जानकारी दिनु भयो ।

उच्च अदालत पोखराका उप–रजिष्ट्रार तथा सूचना अधिकारी निलप्रसाद पनेरुले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकारले विभिन्न सवालमा राखेका जिज्ञासा तथा सुझावको उत्तर मुख्यन्यायाधीश बागचन्द र रजिस्ट्रार शर्माले दिनु भएको थियो ।

Author

Share the News

Recent News

Related News