पोखरा । कास्की जिल्लामा विपद् व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र समयानुकूल बनाउन ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ निर्माणका विषयमा छलफल गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको समन्वयमा २०८३ साउन १ गते रेडक्रस कास्की शाखाको सभाकक्षमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि तथ्यमा आधारित तथा समयसापेक्ष योजना आवश्यक रहेको बताउनुभयो ।
पुरानै संरचनाअनुसार काम गर्दा अपेक्षित प्रभावकारिता हासिल हुन नसकेको उल्लेख गर्दै उहाँले जोखिम क्षेत्रको समयमै पहिचान, तथ्याङ्कमा आधारित योजना, स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम तथा विगतका विपद्बाट सिकेका पाठलाई योजनामा समेट्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी नै मुख्य आधार भएको उल्लेख गर्दै सरोकारवालाको समन्वयमा तयार हुने योजनाले जिल्लाको विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका विपद् फोकल पर्सन नवराज भण्डारीका अनुसार २०८२ वैशाखदेखि २०८३ असार मसान्तसम्म विभिन्न विपद्बाट प्रभावित १ सय ३९ परिवारलाई राहत वितरण गरिएको छ ।
तीमध्ये पहिरोबाट प्रभावित ७२, हावाहुरीबाट २२, जनजीवन प्रभावित आन्दोलन (जेनजी आन्दोलन) बाट १३, बाढीबाट १२, आगलागीबाट १२ तथा चट्याङबाट प्रभावित ८ परिवार रहेका छन् ।
भण्डारीका अनुसार जिल्लामा हाल ८ सय जना प्राथमिक उपचार तालिमप्राप्त स्वयम्सेवक, नौ जना जिल्ला विपद् प्रतिकार्य टोली, ९५ जना सामुदायिक विपद् प्रतिकार्य स्वयम्सेवक, ३५ जना आकस्मिक विपद् प्रतिकार्य समूह (स्थानीय तह स्तरमा), १२ जना शव व्यवस्थापन स्वयम्सेवक, आठ जना खोज तथा उद्धार स्वयम्सेवक तथा चार जना आपत्कालीन मेडिकल स्वयम्सेवक परिचालनका लागि तयारी अवस्थामा छन् ।
जिल्ला तथा उपशाखा तहमा विपद् व्यवस्थापन समितिहरू गठन भई सक्रिय रूपमा कार्यरत रहेको पनि जानकारी दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापति उर्मिला खड्का भण्डारीले शाखाले विपद् व्यवस्थापन तथा राहत वितरणलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी र क्षमता अभिवृद्धिमा निरन्तर काम गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार तत्काल १ सय परिवारलाई पुग्ने राहत सामग्री शाखामा मौज्दात छ भने विपद्का बेला परिचालन गर्न ३० लाख रुपियाँको आकस्मिक विपद् राहत कोष व्यवस्था गरिएको छ ।
प्रदेश र कास्की शाखाको संयुक्त पहलमा ३ सय परिवारलाई आश्रय दिन सक्ने अस्थायी आवास तयार गरिएको छ भने राहत सामग्रीको सहज व्यवस्थापनका लागि पोखरामै प्रादेशिक गोदाम सञ्चालनमा रहेको छ ।
उहाँले कास्की शाखाअन्तर्गत रहेका ४८ उपशाखामध्ये १२ उपशाखाले प्रतिशाखा १० परिवार र १६ उपशाखाले प्रतिशाखा पाँच परिवारलाई राहत वितरण गर्न सक्ने क्षमता विकास गरिसकेको जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री सन्तोष अधिकारीले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका साथै प्रकोप नक्साङ्कनका लागि संस्थाले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभयो ।
छलफलमा नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, पोखरा महानगरपालिकाको तदर्थ समितिका संयोजक हरिप्रसाद श्रेष्ठ, नेपाली सेना फूलबारी ब्यारेकका सेनानी श्यामु शाही, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदी, जिल्ला समन्वय समिति कास्कीका शाखा अधिकृत लक्षु शर्मालगायतले विपद् पूर्वतयारी, स्रोतसाधन व्यवस्थापन तथा आपत्कालीन अवस्थाको रणनीतिबारे सुझाव दिनुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापति उर्मिला खड्का भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक मोहनसिंह खड्काले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने सञ्चालन मन्त्री सन्तोष अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी, पोखरा महानगरपालिका तथा रूपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका विपद् व्यवस्थापन फोकल पर्सनहरूको सहभागिता रहेको थियो ।