मानव आवाज

२०८३ असार २७ गते
00: 00: 00
२०८३ असार २७ गते

अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा आठ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट अनलाइनमार्फत गैरकानुनी सट्टेबाजी सञ्चालन गरेको आरोपमा आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

२०८३ असार २६ गते आयोजित पत्रकार सम्मेलनमा प्रहरीले पोखरा महानगरपालिका–१८, सेदीस्थित जीवन श्रेष्ठको घरमा छापा मारेर सात जना भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जनाएको हो ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानले भारतका सत्यम सिंह (३४), हर्ष उसरेटे (२४), विशाल चाउ (२३), जमान सिंह तमार (२२), विक्रान सिंह (२७), अजितेश कुमार मिश्र (२६) र सत्यम राजपूत (२४) पक्राउ परेको बताउनुभयो ।

त्यसैगरी दार्चुला घर भई हाल पोखरा महानगरपालिका–१८, सेदी बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा पनि पक्राउ परेको पासवानले बताउनुभयो ।

प्रहरीका अनुसार उनीहरूले सफ्टवेयर कम्पनी सञ्चालन गर्ने बहानामा २०८२ चैत १८ गतेदेखि सात कोठे घर भाडामा लिएर अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले दैनिक ३ देखि ४ लाख भारतीय रुपियाँसम्म कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

बरामद गरिएका कम्प्युटर प्रणालीमा १ करोड ११ लाखदेखि १० करोड ५५ लाख भारतीय रुपियाँसम्मको क्रेडिट विवरण फेला परेको प्रहरीले जनाएको छ ।

कारोबारका लागि उनीहरूले भारतीय नागरिकहरूको नाममा रहेका एक्सिस बैङ्क, आईडीएफसी बैङ्क, गुगल पेलगायत विभिन्न बैङ्क खाता तथा डिजिटल वालेट भाडामा लिएर प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट सट्टेबाजीमा प्रयोग भएका ७ थान ल्यापटप, ६ थान मोनिटर, ३१ थान मोबाइल फोन, ३४ थान भारतीय सिमकार्ड, ९ थान किबोर्ड, ४ थान पेनड्राइभ, राउटर, युपीएसलगायतका विद्युतीय उपकरण बरामद गरेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा उक्त कारबाही गरेको हो ।

प्रहरी उपरीक्षक नवीन कार्कीले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

Author

Share the News

Recent News

Related News