पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकका गुनासा, सुझाव तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन समुदायस्तरमा पुगेर कार्यक्रम सञ्चालन गर्ने अभियानलाई तीव्रता दिएको छ। प्रशासनले ग्रामीण बस्ती तथा टोल–टोलमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै स्वास्थ्य अधिकारसँग सम्बन्धित होटल, रेस्टुरेन्ट, क्यान्टिन र खाद्य पसलहरूको अनुगमन तथा आवश्यक कारबाहीलाई पनि निरन्तरता दिएको छ ।
यसै क्रममा “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागूऔषध दुरुपयोगविरुद्धको ऐक्यबद्धता” भन्ने नारासहित जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना, पोखरा महानगरपालिका–१३ वडा कार्यालयको समन्वय तथा नेपाल मुस्लिम युवा समिति, कास्कीको सहयोगमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार पोखरा–१३ मियाँपाटनमा सम्पन्न भएको छ । कार्यक्रममा सुरक्षा निकाय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नागरिकका गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन समुदायस्तरमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले अपराधलाई सामाजिक तथा मनोवैज्ञानिक दृष्टिकोणबाट ‘सरुवा रोग’ सँग तुलना गर्दै एउटा व्यक्तिको आपराधिक सोच र व्यवहार अर्को व्यक्तिमा तथा एक पुस्ताबाट अर्को पुस्तामा सर्न सक्ने भएकाले समाज, समुदाय र परिवार सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार अपराध रूपी ‘सरुवा रोग’बाट बच्ने सबैभन्दा प्रभावकारी उपाय सचेतना र सतर्कता हो ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालले स्थानीय प्रशासन शान्ति सुरक्षा कायम गर्नुका साथै नागरिकलाई सहज, छिटोछरितो र पारदर्शी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रशासन कार्यालयबाट प्रवाह हुने विभिन्न सेवाबारे पनि जानकारी गराउनुभयो ।
पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले समुदायमा रहेका समस्याको पहिचान, प्रशासन र नागरिकबीच प्रत्यक्ष संवाद तथा शान्ति सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक तेजप्रसाद कँडेलले लागूऔषध दुव्र्यसन, साइबर अपराध, घरेलु हिंसा तथा अन्य सामाजिक अपराध नियन्त्रणका लागि समुदायको सक्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो
।

उहाँले युवालाई लागूऔषधको कुलतबाट जोगाउन अभिभावक, विद्यालय, स्थानीय सरकार र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।
प्रहरी निरीक्षक कँडेलले अभिभावकले आफ्ना छोराछोरीको संगत, व्यवहार र आनीबानीमा आउने परिवर्तनप्रति सधैँ सजग रहनुपर्नेमा पनि जोड दिनुभयो ।
नेपाल मुस्लिम युवा समिति, कास्कीका संस्थापक अध्यक्ष हाजी अब्दुल रहिमले समुदायमा देखिएका समस्या तथा बाहिरबाट आउने व्यक्तिका कारण बढ्न सक्ने सामाजिक विकृतिप्रति ध्यान दिन आग्रह गर्दै मस्जिद, मदरसा तथा अन्य सामाजिक संस्थाको सुरक्षा र निगरानीमा प्रशासनले विशेष चासो दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले सुरक्षा निकायसँग निरन्तर समन्वय गरी समाजमा हुने शङ्कास्पद गतिविधिबारे समयमै जानकारी गराउनुपर्ने उल्लेख गर्दै नागरिकता वितरण प्रक्रियालाई थप सरल, पहुँचयोग्य र प्रभावकारी बनाउन आवश्यक सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो ।
समाजसेवी सराफत अली मियाँले स्थानीय प्रशासनले समुदायस्तरमै पुगेर सञ्चालन गरेको लागूऔषध दुरुपयोग, सामाजिक विकृति तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल मुस्लिम युवा समिति, कास्कीका अध्यक्ष अब्बास अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य जमिल अहमदले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय समुदायका अगुवा, युवाहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।