मानव आवाज

२०८३ असार १८ गते
00: 00: 00
२०८३ असार १८ गते

सामाजिक विभेद र अन्धविश्वास हटाउन सचेतना कार्यक्रम महत्त्वपूर्ण

पोखरा । क्याम्पेन फर चेन्ज गण्डकी प्रदेशको आयोजना तथा मानव अधिकारका लागि दलित महिला सशक्तिकरण नेपालको समन्वयमा अन्तरलिङ्गी व्यक्तिहरूबारे जानकारीमूलक सचेतना कार्यक्रम २०८३ असार १८ गते पोखरा महानगरपालिका-२६, बुढीबजारमा सम्पन्न भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि तथा पोखरा महानगरपालिका-२६ की कार्यवाहक अध्यक्ष राधा बरालले अन्तरलिङ्गी व्यक्तिहरूसँग संवाद गर्दा सम्मानजनक भाषा प्रयोग गर्न र उनीहरूको गोपनीयताको पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीय तह अन्तरलिङ्गी व्यक्तिहरूको सम्मानपूर्वक बाँच्ने, शिक्षा प्राप्त गर्ने र रोजगारीको समान अवसर सुनिश्चित गर्ने अधिकारप्रति जिम्मेवार र संवेदनशील हुनुपर्ने बताउनुभयो ।

उहाँले समाजमा विद्यमान विभेद, अन्धविश्वास, लाञ्छना र पूर्वाग्रह अन्त्य गर्न घरघर र समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसमा वडा कार्यालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नौलो विहानी नेपालकी कार्यालय प्रमुख रजनी थकालीले अन्तरलिङ्गी व्यक्तिको अवधारणाबारे जानकारी दिँदै समाजमा रहेका गलत बुझाइ र अन्धविश्वास हटाउन समुदायस्तरका सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

कालिकाचोक टोल विकास संस्था-२६ की अध्यक्ष जमुना गुरुङ तथा समाजसेवी दिलबहादुर सुनारले अन्तरलिङ्गी व्यक्तिहरू पनि समान अधिकार भएका नागरिक भएकाले उनीहरूको मानव अधिकारको सम्मान गर्दै उनीहरूले भोगिरहेका चुनौतीप्रति समाज संवेदनशील बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

क्याम्पेन फर चेन्ज गण्डकी प्रदेशका फिल्ड अफिसर कमल कञ्चन कार्कीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै समाजमा रहेका भ्रम चिर्दै अन्तरलिङ्गी व्यक्तिहरूको पहिचान, अधिकार र सम्मान सुनिश्चित गर्न सबै पक्षको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले अन्तरलिङ्गी व्यक्तिहरूले भोगिरहेका चुनौती तथा उनीहरूको वास्तविक जीवन अनुभव र सङ्घर्षका विषयमा पनि जानकारी गराउनुभयो ।

मानव अधिकारका लागि दलित महिला सशक्तिकरण नेपालकी अध्यक्ष ईश्वरी विकले मनोसामाजिक स्वास्थ्य तथा परामर्शसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य बबिता विकले गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका-२६ का जनप्रतिनिधि, वडा कर्मचारी, टोल विकास संस्थाका पदाधिकारी, आमा समूहका प्रतिनिधिलगायत ४० जनाको सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News