पोखरा । मानसिक स्वास्थ्यसम्बन्धी सेवा र सचेतना कार्यक्रमलाई समुदाय तथा घरपरिवारसम्म विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
बढ्दो आत्महत्याका घटनालाई नियन्त्रण गर्न समयमै उपचार, मनोपरामर्श र प्रभावकारी जनचेतना आवश्यक रहेको उनीहरूको भनाइ छ ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रादेशिक जनस्वास्थ्य केन्द्र पोखराले आयोजना गरेको ‘मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीको संवेदनशील रिपोर्टिङसम्बन्धी अभिमुखीकरण’ कार्यक्रम २०८३ असार १७ गते पोखरामा सम्पन्न भयो ।
पोखरा महानगरपालिका–१० स्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त प्रदेश सचिव खिमबहादुर खड्काले मानसिक स्वास्थ्यका कार्यक्रमलाई समुदायस्तर र घरपरिवारसम्म निरन्तर रूपमा पुर्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
समयमै उचित उपचार र मनोपरामर्श उपलब्ध गराउन सके आत्महत्याका धेरै घटना रोक्न सकिने पनि उहाँले बताउनुभयो ।
कास्की जिल्लामा पछिल्ला वर्षहरूमा आत्महत्याका घटना चिन्ताजनक रहेकाले मानसिक स्वास्थ्य प्रवर्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख सुरज गुरौले मानसिक स्वास्थ्य प्रवर्धनमा ध्यान, आत्महेरचाह र सचेतनाको महत्वबारे सहजीकरण गर्नुभएको थियो ।
चिकित्सा सेवा महाशाखाका प्रमुख डा. रमेशकुमार केसीले आत्महत्या रोकथाममा सञ्चारमाध्यमले संवेदनशील र जिम्मेवार रिपोर्टिङ गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यससम्बन्धी प्रस्तुति दिनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुरेन्द्र रानाभाटले कास्कीमा आत्महत्याको अवस्था र न्यूनीकरणका लागि प्रहरीले गरेका प्रयासबारे जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा पछिल्लो समय दैनिक औसत १६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले अवस्था गम्भीर रहेको देखाउँछ ।
उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलमार्फत सेवा विस्तार, आत्महत्यासम्बन्धी अन्तरक्रिया कार्यक्रम, लघु सचेतना अभियान, लागुऔषध दुर्व्यसनमा परेकालाई निःशुल्क परामर्श, असहाय व्यक्तिको उद्धार तथा व्यवस्थापन, सामाजिक सञ्जालको सुरक्षित प्रयोगसम्बन्धी सचेतना, बालविवाह तथा बहुविवाहविरुद्ध निगरानी, हिंसापीडितलाई निःशुल्क मनोसामाजिक परामर्श तथा नेपाल प्रहरीको मोबाइल एप सञ्चालनलगायतका प्रयासबारे जानकारी गराउनुभयो ।
प्रहरीको तथ्याङ्कअनुसार कास्कीमा झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा बढी छ । विष सेवन, हाम फाल्ने तथा आगो लगाउने वा हतियार प्रयोग गर्ने घटना पनि देखिएका छन् ।
कास्कीमा आर्थिक वर्ष २०७९/८० मा १ सय ६६, आर्थिक वर्ष २०८०/८१ मा १ सय ५५, आर्थिक वर्ष २०८१/८२ मा १ सय ४९ जनाले आत्महत्या गरेका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को असार १६ गतेसम्म १ सय ४४ जनाको आत्महत्याबाट मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै स्वागत गर्नुभएको थियो । कार्यक्रममा ३६ जना सञ्चारकर्मीसहित स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।