पोखरा । ज्येष्ठ नागरिकका अधिकार, समाजमा उनीहरूको भूमिका, राज्यले उपलब्ध गराउने सेवासुविधा तथा नयाँ पुस्तासँगको सम्बन्धका विविध पक्षबारे २०८३ असार १३ गते पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजना, मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको समन्वय तथा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा पोखरा महानगरपालिका-२६ सक्नेरीस्थित बहुउद्देश्यीय सामाजिक भवनमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयकी प्रमुख नीतु गर्तौलाले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक तथा ज्येष्ठ नागरिकका अधिकारबारे जानकारी दिँदै कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
उहाँले महिला, बालबालिका, दलित तथा ज्येष्ठ नागरिकका लागि संविधानले विशेष सामाजिक सुरक्षाको व्यवस्था गरेको उल्लेख गर्दै मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन तथा छानबिन गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।
वरिष्ठ मानव अधिकारकर्मी तथा नागरिक मञ्च गण्डकीका संयोजक विष्णुप्रसाद बरालले ज्येष्ठ नागरिकले भोगिरहेका व्यावहारिक समस्या र अधिकार कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्न राज्य, समाज र परिवार सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
उहाँले आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र संयुक्त परिवारको विघटनका कारण ज्येष्ठ नागरिकहरू एक्लोपन, मानसिक तनाव तथा असुरक्षाको सामना गर्न बाध्य भएको उल्लेख गर्दै पारिवारिक मूल्य, संस्कार र सम्मानको पुनःस्थापनामा जोड दिनुभयो ।
इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारीले स्थानीय सरकारले भौतिक पूर्वाधारसँगै मानव अधिकार प्रवर्द्धन र नागरिक सचेतनामा पनि समान प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै पुस्ताबीच बढ्दो वैचारिक दूरी कम गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
साथै ज्येष्ठ नागरिकमाथि हुने शारीरिक, मानसिक तथा आर्थिक दुर्व्यवहार मानव अधिकारको गम्भीर उल्लङ्घन भएकाले त्यसको रोकथाममा सबै पक्ष सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जागरूक नागरिक समाजका माधवप्रसाद पौडेलले यस्ता सचेतनामूलक कार्यक्रम समयानुकूल र प्रभावकारी रहेको बताउनुभयो ।
उज्ज्वल आमा समूहकी अध्यक्ष शारदा भट्टराईले परिवारबाटै ज्येष्ठ नागरिकप्रति सम्मान र आदरको संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष खेमप्रसाद भण्डारीले दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकका लागि अनुभव आदान–प्रदान, सामाजिक भेटघाट र मानसिक सन्तुलन कायम गर्ने साझा थलो बनेको बताउँदै स्थानीय सरकारले यस्ता केन्द्रलाई थप सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
केन्द्रका उपाध्यक्ष राममणि बरालले स्वास्थ्य बीमा, यातायातमा सहुलियत, वृद्धभत्ता वितरण तथा बैंकिङ सेवा ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्ने माग गर्नुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा वरिष्ठ मानव अधिकारकर्मी विष्णुप्रसाद बराल, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयकी प्रमुख नीतु गर्तौला, इन्सेक पोखराका संयोजक गणेश भण्डारी तथा मानव अधिकार रक्षक सञ्जालकी सहसंयोजक जुना केसीले सहजीकरण गर्दै ज्येष्ठ नागरिकका कानुनी अधिकार, स्वास्थ्य सेवामा उपलब्ध सहुलियत तथा अधिकार उल्लङ्घन हुँदा अपनाउन सकिने कानुनी प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।
उहाँहरूले अधिकारसँगै कर्तव्यको पालना पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकप्रति सम्मान, सामाजिक सद्भाव र सहअस्तित्व कायम गर्न सबै पक्षको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो ।
मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरि ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक जुना केसीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन सचिव सावित्री अधिकारी घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक तथा स्थानीय तहका मानव अधिकार रक्षकहरू गरी ८५ जना को सहभागिता रहेको थियो ।