पोखरा । पोखरा महानगरपालिकाभित्रका विभिन्न ११ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न ३० जना बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक, जुत्ता र मोजा वितरण गरिएको छ ।
चिल्ड्रेन–नेपालको आयोजना तथा टिएनटी एयर कुरियर सर्भिस, रोटरी क्लब अफ पोखरा भ्याली र जनता सुदर्शन माध्यमिक विद्यालय, ठुलीपोखरी, पर्वत (२०५१ साल एसएलसी समूह)को सहयोगमा २०८३ असा १३ गते आयोजित कार्यक्रममा उक्त सामग्री वितरण गरिएको हो ।
“आउनुहोस्, हामी सबै मिलेर बालबालिकाको उज्ज्वल भविष्य निर्माण गरौं” भन्ने सन्देशलाई आत्मसात् गर्दै बालबालिकाको शिक्षा र संरक्षणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
उनीहरूले आजको सानो सहयोगले पनि बालबालिकाको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष विजयराज आचार्यले रोटरीले शिक्षा, स्वास्थ्य तथा सामुदायिक सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै बालबालिकामा गरिएको लगानी नै समाज र राष्ट्रको भविष्यमा गरिएको लगानी भएको बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि चिल्ड्रेन–नेपालसँगको सहकार्यलाई अझ विस्तार गर्दै यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको पढाइ प्रभावित हुन नहुने उल्लेख गर्दै शिक्षा नै उज्ज्वल भविष्य निर्माणको सबैभन्दा बलियो आधार भएको बताउनुभयो ।
उहाँले सरकारी, निजी तथा सामाजिक क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै विपन्न समुदायका बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्न संस्था निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।
टिएनटी एयर कुरियर सर्भिस गण्डकी प्रदेशका अध्यक्ष रामचन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न समुदायका बालबालिकाको शिक्षामा सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो ।
उहाँले निजी क्षेत्रले व्यवसायसँगै समाजप्रतिको दायित्व पनि इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमले बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रोटरी क्लब अफ पोखरा भ्यालीका सन् २०२६/२७ का अध्यक्ष रोटेरियन नवीनराज बराल, उपाध्यक्ष रोटेरियन कृष्णहरि पौडेल तथा रोटेरियन माधव बराल र रोटेरियन रघु शर्माले आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको शिक्षा प्रभावित हुन नदिन समुदाय, सामाजिक संस्था र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
उनीहरूले यस्ता सहयोगले बालबालिकाको शैक्षिक यात्रामा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
सहयोग सामग्री प्राप्त गरेपछि बालबालिका तथा अभिभावकहरूले खुशी व्यक्त गर्दै यसले शैक्षिक खर्चको भार कम हुनुका साथै बालबालिकालाई नियमित रूपमा विद्यालय जान थप हौसला मिलेको प्रतिक्रिया दिएका थिए ।
चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशक शिव शर्मा चापागाईंले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने सञ्चालन कार्यक्रम अधिकृत रमेश सुवेदीले गर्नुभएको थियो ।