पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा पोखरामा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको समन्वयमा सञ्चालित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको सप्ताहव्यापी अभियान बिहीबार प्रभातफेरीसहित सम्पन्न भएको छ ।
यस वर्ष “लागुऔषधको चुनौती चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ” भन्ने नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अभियानको समापन प्रभातफेरीपछि पोखरा सभागृह परिसरमा भएको कार्यक्रममा गरिएको हो ।
मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृह पुगेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक अभियान समाप्त भए पनि लागुऔषधविरुद्धको प्रशासनिक तथा सामाजिक अभियान निरन्तर जारी रहने बताउनुभयो ।
उहाँले लागुऔषध नियन्त्रणका लागि तीनओटा मुख्य पक्षमा एकसाथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“पहिलो, सामाजिक सचेतनामार्फत युवालाई कुलतमा लाग्न नदिने, दोस्रो, नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउने र तेस्रो, कुलतमा परिसकेकाहरूलाई पुनःस्थापना केन्द्रमार्फत समाजमा पुनर्स्थापित गर्ने कामलाई प्राथमिकता दिनुपर्छ ।” उहाँले भन्नुभयो ।
प्रजिअ गुरुङले लागुऔषध नियन्त्रणका लागि राज्यका निकाय, पुनःस्थापना केन्द्र, अधिकारकर्मी, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा आमनागरिकबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले प्रत्येक व्यक्ति र परिवार स्वयम् सचेत हुनुपर्नेमा पनि जोड दिनुभयो ।
कास्कीमा लागुऔषधविरुद्धको सप्ताहव्यापी अभियान सम्पन्न, पाँच वर्षयताकै सबैभन्दा धेरै लागुऔषध बरामद
सामाजिक सचेतनामार्फत युवालाई कुलतमा लाग्न नदिने
नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउने
कुलतमा परिसकेकाहरूलाई पुनःस्थापना केन्द्रमार्फत समाजमा पुनर्स्थापित गर्ने कामलाई प्राथमिकता दिने
अभियान सफल बनाउन योगदान पुर्याउने सुरक्षाकर्मी, सञ्चारकर्मी, पुनःस्थापना केन्द्र तथा विभिन्न सङ्घसंस्थालाई धन्यवाद दिँदै उहाँले कास्की प्रशासन आगामी दिनमा पनि लागुऔषधविरुद्ध शून्य सहनशीलताको नीति अपनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले जिल्लामा लागुऔषधको अवस्था चुनौतीपूर्ण बन्दै गएको भन्दै पछिल्लो तथ्याङ्क सार्वजनिक गर्नुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हालसम्म लागुऔषधसम्बन्धी १ सय २० ओटा मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५ ओटाले बढी हो । यस अवधिमा नौ जना विदेशी नागरिकसहित १ सय ८८ जनालाई पक्राउ गरिएको छ ।
उहाँले विगत पाँच वर्षको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी लागुऔषध बरामद भएको जानकारी दिनुभयो ।
एसपी कार्कीका अनुसार सप्ताहव्यापी अभियानका क्रममा मात्रै कास्कीका विभिन्न नाका तथा चेकिङ प्वाइन्टबाट १९ जनालाई नियन्त्रणमा लिइएको तथा तीन वटा मुद्दा दर्ता गरिएको छ ।
सार्वजनिक सवारीसाधनका चालकहरू समेत लागुऔषध सेवन गरेर सवारी चलाइरहेको पाइएको उल्लेख गर्दै उहाँले यसलाई अत्यन्तै गम्भीर र चिन्ताजनक प्रवृत्तिका रूपमा चित्रण गर्नुभयो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले लागुऔषध नियन्त्रणका लागि प्रहरीको कारबाहीसँगै सामाजिक चेतना अभिवृद्धि र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिबन्धित लागुऔषधजन्य औषधि बिक्रीवितरण गर्ने एक फार्मेसी सञ्चालकलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
रिकभरी नेपाल कास्कीका शिव न्यौपानेले जिल्लामा लागुऔषधको समस्या दिनप्रतिदिन भयावह बन्दै गएको बताउँदै यसको नियन्त्रणका लागि चालिएका प्रयास सकारात्मक रहेको धारणा राख्नुभयो ।
उहाँले लागुऔषधको कुलतले डाक्टर, इन्जिनियर, वकिलजस्ता पेशामा जाने तयारीमा रहेका शिक्षित युवाको भविष्यसमेत बर्बाद पारिरहेको उल्लेख गर्दै परिवारको एक सदस्य कुलतमा फस्दा सिङ्गो परिवारले असह्य पीडा भोग्नुपर्ने अवस्था आउने बताउनुभयो ।
कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, सञ्चारकर्मी, पोखरामा सञ्चालित पुनःस्थापना केन्द्रका प्रमुख तथा प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।