मानव आवाज

२०८३ असार ११ गते
00: 00: 00
२०८३ असार ११ गते

जलपर्यटन व्यवसाय थप व्यवस्थित र सुरक्षित बनाउन प्रशासनको १९ बुँदे निर्देशन

पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले फेवाताल लगायतका तालहरूमा सञ्चालित जलपर्यटन व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन १९ बुँदे निर्देशन जारी गरेको छ । उक्त निर्देशन २०८३ असार ११ गतेदेखि लागू गरिएको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार केही व्यवसायीहरूले दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने, पर्याप्त सुरक्षा मापदण्ड नअपनाउने, बिलबिजक जारी नगर्ने तथा सेवाग्राहीको बीमा नगर्ने जस्ता गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालद्वारा जारी सूचनामा जलपर्यटन व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

प्रशासनले सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै लाइफ ज्याकेटको प्रयोग अनिवार्य गरेको छ । लाइफ ज्याकेट बिना डुङ्गा, कायाकिङ तथा सर्फिङ सञ्चालन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी, सेवा दिनुअघि व्यवसायीहरूले सेवाग्राहीलाई सञ्चालन विधि, सम्भावित जोखिम तथा अपनाउनुपर्ने सुरक्षा उपायबारे पूर्ण जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

१६ वर्षमुनिका बालबालिकालाई अभिभावकको साथ वा उपस्थितिविना कायाकिङ तथा सर्फिङ गर्न नदिने निर्देश पनि जारी गरिएको छ ।

सूचना अनुसार अब कुनै पनि जलपर्यटन व्यवसाय सम्बन्धित निकायमा दर्ता तथा नवीकरण गरेपछि मात्र सञ्चालन गर्न पाइनेछ ।

सेवा प्रदान गर्दा सेवाग्राहीलाई अनिवार्य रूपमा बिलबिजक उपलब्ध गराउनुपर्ने, सेवाग्राहीको सङ्ख्या अनुसार बीमा गराउनुपर्ने तथा स्वीकृत संख्याभन्दा बढी बोट सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।

यसका साथै, व्यवसायी र सेवाग्राही दुवैलाई धूमपान, मद्यपान तथा लागू पदार्थ सेवन गर्न निषेध गरिएको छ । सेवाग्राहीले मद्यपान गरेको आशंका भएमा सेवा प्रदान गर्न नपाइने प्रशासनले जनाएको छ ।

कास्कीमा दिउँसोको समयमा हुने हावाहुरी, चट्याङ र वर्षालाई मध्यनजर गर्दै प्रशासनले जलपर्यटन व्यवसाय सञ्चालनका लागि समय सीमा पनि तोकेको छ ।

निर्देशनअनुसार दिउँसो २ बजेपछि डुङ्गा, कायाकिङ तथा सर्फिङ सञ्चालन गर्न पाइने छैन भने साँझ ६ बजेपछि जलपर्यटनसम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्नुपर्नेछ ।

खराब मौसमको अवस्थामा सुरक्षाकर्मीहरूसँग समन्वय गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले जारी निर्देशनको उल्लङ्घन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै सरोकारवाला निकाय तथा सेवाग्राहीलाई सतर्क रहन आग्रह गरिएको छ ।

Author

Share the News

Recent News

Related News