पोखरा । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, गण्डकी प्रदेशको आयोजनामा तथा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग र द्वन्द्वपीडित अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय नेटवर्कको सहकार्यमा ‘द्वन्द्वपीडित अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, अधिकार र सशक्तीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम २०८३ असार ६ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेशसभा अन्तर्गत सामाजिक विकास तथा कृषि समितिकी सभापति दमयन्ती रुचालले द्वन्द्वपीडित अपाङ्गता भएका व्यक्तिहरूको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका समस्या तथा प्रदेश सरकार र संसदीय समितिको भूमिका, बजेट तथा कानुन कार्यान्वयनको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने अवसर मिलेको भन्दै आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
सभापति रुचालले सशस्त्र द्वन्द्वका कारण धेरै नागरिक शारीरिक तथा मानसिक रूपमा प्रभावित भई अपाङ्गताको अवस्थामा पुगेको उल्लेख गर्दै द्वन्द्व समाप्त भएको लामो समय बितिसक्दा पनि उनीहरूले न्याय, राज्यबाट प्राप्त हुने सुविधा तथा सामाजिक पुनर्स्थापनाका क्षेत्रमा विभिन्न चुनौती सामना गरिरहेको बताउनुभयो ।

उहाँले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय महासन्धिहरूद्वारा सुनिश्चित अधिकारहरूको कार्यान्वयन अवस्था मूल्याङ्कन गर्न तथा द्वन्द्वपीडित अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक र स्वास्थ्य अवस्थाको यथार्थ चित्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले द्वन्द्वपीडित अपाङ्गता भएका व्यक्तिहरूका साझा समस्या समेटिएको दस्तावेज तयार गरी सम्बन्धित निकायसमक्ष नीतिगत सुधारका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।
पीडितहरूमा आफ्ना अधिकारप्रति सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले थप ऊर्जा र प्रेरणा प्रदान गर्ने धारणा व्यक्त गरिएको थियो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष हेमबहादुर गुरुङले द्वन्द्वपीडित अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पुनर्स्थापना र सशक्तीकरणका विषयमा महत्वपूर्ण छलफल भएको बताउँदै कार्यक्रमबाट प्राप्त सुझावहरूले आगामी कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।