पोखरा । गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले व्यावसायिक इमानदारिता नै पत्रकारितालाई लोकतान्त्रिक राज्यको सशक्त चौथो अङ्ग बनाउने मूल आधार भएको बताउनुभएको छ ।
उहाँले तालिम तथा प्रशिक्षण कार्यक्रम केवल औपचारिकतामा सीमित नभई त्यसबाट संस्थागत विकासमा सहयोग पुग्ने ठोस निष्कर्ष निस्कनुपर्नेमा जोड दिनुभयो ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीको आर्थिक सहयोगमा सञ्चालित दुईदिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री कार्कीले “बलियो पत्रकारिता नै बलियो लोकतन्त्रको आधार हो” भन्दै राज्यले पत्रकारितालाई विकासको सहयात्रीका रूपमा स्वीकार गर्नुपर्ने बताए ।
साथै पत्रकारहरूले पनि आफ्नो व्यावसायिक मर्यादा र उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।
पोखरा महानगरपालिका-१८, सराङकोटमा असार ६ र ७ गते आयोजित तालिमको उद्घाटन सत्रमा बोल्दै उहाँले पत्रकारिता राज्यका तीन प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको ‘चेक एन्ड ब्यालेन्स’ का रूपमा रहने उल्लेख गर्नुभयो ।
पत्रकारिताले खबरदारी गर्दै राज्यलाई सही मार्गमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
मन्त्री कार्कीले राज्यले चौथो अङ्गलाई बलियो बनाउन आवश्यक साधन, स्रोत र सुविधा उपलब्ध गराउन अझै पर्याप्त पहल गर्न नसकेको टिप्पणी गर्नुभयो ।
पत्रकारितालाई प्रतिपक्षका रूपमा मात्र नभई राज्यलाई बलियो बनाउने साझेदारका रूपमा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले सञ्चारकर्मीहरूलाई लोकप्रियताको पछाडि मात्र नदौडी समाज र नागरिकप्रतिको दायित्वलाई केन्द्रमा राख्न आग्रह गर्दै सूचना प्रकाशन गर्दा त्यसको संवेदनशीलतालाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारिता सूचना सम्प्रेषण गर्ने माध्यम मात्र नभई जिम्मेवार पेसा भएको बताउनुभयो ।
उहाँले आचारसंहिताको सामूहिक पालना नै पेसागत मर्यादा कायम राख्ने आधार भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष पौडेलले पत्रकारिता क्षेत्रले राज्यको उदासीनता, स्रोतसाधनको अभाव तथा नीतिगत विभेदजस्ता गम्भीर चुनौती भोगिरहेको बताउनुभयो ।
राज्य सञ्चालकहरूले पत्रकारितालाई केही व्यक्तिको स्वार्थसँग जोडेर हेर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उहाँले पत्रकारिता जनताको आवाज र लोकतन्त्रको प्राण भएको धारणा राख्नुभयो ।
पौडेलले सञ्चारकर्मीहरूले अब ‘चौथो अङ्ग’ को संज्ञामा सीमित नरही आफ्नो हक, अधिकार र व्यावसायिक सुरक्षाका लागि नीतिगत सङ्घर्ष गर्नुपर्ने समय आएको बताउनुभयो ।
तालिममा इन्जिनियर मिलन श्रेष्ठले कृत्रिम बौद्धिकता (एआई) र एल्गोरिदमसम्बन्धी प्रस्तुति दिनुभएको थियो ।
त्यसैगरी पत्रकार केशवशरण लामाछानेले पत्रकारितामा एआईको प्रयोग, पत्रकारिताको वर्तमान सङ्कट तथा समाधानका सम्भावित उपायबारे सहजीकरण गर्नुभएको थियो ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका इन्चार्ज गणेश पौडेल र केन्द्रीय सदस्य कृष्णबहादुर थापाले पत्रकारिताको संस्थागत विकासका लागि थप विचारविमर्श आवश्यक रहेको बताउनुभयो ।
उहाँहरूले सूचनाको विश्वसनीयता तथा स्रोतको गोपनीयताको संरक्षण पत्रकारिताका आधारभूत स्तम्भ भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका अध्यक्ष इन्द्रप्रसाद पौडेलले गर्नुभएको थियो ।
उपाध्यक्ष रञ्जिता शर्माले उद्देश्य तथा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन आश गुरुङले गरेका थिए ।