मानव आवाज

२०८३ असार ४ गते
00: 00: 00
२०८३ असार ४ गते

ब्राह्मण समाज पोखरामा सोमनाथ

पोखरा ब्राह्मण समाज नेपाल, पोखरा महानगर समितिको वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका-८, ज्ञानकुञ्ज मार्गस्थित समाजको आफ्नै स्वामित्वको केन्द्रीय कार्यालयमा सम्पन्न अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि सोमनाथ उपाध्याय अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता रोहितराज बास्तोलाका अनुसार समितिको उपाध्यक्षमा कमला भण्डारी, सचिवमा वसन्तराज कोइराला, कोषाध्यक्षमा मनहरि बराल तथा सहसचिवमा सोनु सुवेदी चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ब्राह्मण समाज नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष महेश पराजुलीले २०६७ सालमा स्थापित ब्राह्मण समाज नेपाल गैरराजनीतिक तथा गैरनाफामूलक सामाजिक संस्था भएको उल्लेख गर्दै ब्राह्मण समुदायको हकहित, सांस्कृतिक संरक्षण र सामाजिक उत्थानका क्षेत्रमा संस्थाले निरन्तर काम गर्दै आएको बताए ।

उनले संस्थाले हाल ६५ भन्दा बढी जिल्लामा आफ्नो सञ्जाल विस्तार गरिसकेको जानकारी दिँदै ‘एक ब्राह्मण घर, एक आजीवन सदस्य’ अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन महानगर समितिलाई आग्रह गरे ।

विशेष अतिथि तथा केन्द्रीय उपाध्यक्ष भेषराज लम्सालले समाजको आफ्नै स्वामित्वको केन्द्रीय कार्यालयमा यस्ता महत्वपूर्ण कार्यक्रम आयोजना हुनु संस्थागत विकास र स्थायित्वका दृष्टिले सकारात्मक भएको बताए ।

उनले संस्थाले वैदिक सनातन धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्धननमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा केन्द्रीय सचिव पृथ्वी पौडेल, केन्द्रीय सदस्य मीरा आचार्य तथा कास्की जिल्ला अध्यक्ष रामप्रसाद वस्ताकोटीलगायतले ब्राह्मण समाज नेपालको स्थापना, उद्देश्य र गतिविधिका विषयमा धारणा राखेका थिए ।

साधारणसभामा सचिव वसन्तराज कोइरालाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।

चिरञ्जीवी बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सूर्यमोहन आचार्यले गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष सोमनाथ उपाध्याय अधिकारीले महानगर समितिलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै जिल्ला तथा केन्द्रीय समितिको निर्देशन र विधानको मर्मअनुसार समाजलाई थप सङ्‌गठित गरी विभिन्न सामाजिक गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

Author

Share the News

Recent News

Related News