सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिका-७, महेश्वताका पशुपालक कृषक सुशील बजगाईँको दिन बिहानै गोठको कामबाट सुरु हुन्छ ।
हातमा बाल्टिन र काँधमा तौलिया बोकेर भैँसीको स्याहारसुसारमा जुट्ने उहाँको मुहारमा थकानभन्दा बढी सन्तुष्टिको चमक देखिन्छ ।
सात वर्ष मलेसियामा पसिना बगाएर फर्किँदा जति निराशा थियो, आज त्यसभन्दा धेरै आशा र आत्मविश्वास उहाँको दैनिकीमा झल्किन्छ ।
विदेशको कठिन जीवन सम्झिँदै बजगाईँ भन्नुहुन्छ-“४० डिग्रीभन्दा बढी तापक्रममा काम गर्दा देश, घरपरिवार सबै बिर्सिनुपर्थ्यो । महिनाको ६०-७० हजार रुपियाँ कमाइ हुन्थ्यो, तर आफ्ना लागि समय भने हुँदैनथ्यो । खाने, सुत्ने र आफन्तसँग कुरा गर्ने अवसरसमेत सीमित थियो ।”
सात वर्षपछि विदेशिएको जीवनप्रति दिक्क लागेपछि उहाँले नेपाल फर्किने निर्णय गर्नुभयो । घर फर्किँदा उहाँसँग दुई ओटा भैँसी थिए ।
त्यही आधारलाई विस्तार गर्दै व्यवसायिक पशुपालन गर्ने सोच त थियो, तर लगानी र हौसला दिने व्यक्ति नपाउँदा योजना मनमै सीमित भएको थियो ।
त्यतिबेला घरका दुई भैँसीबाट दैनिक १८ देखि २० लिटर दुध उत्पादन हुन्थ्यो । उत्पादित दुध डेरीसम्म पुर्याउन झन्डै तीन किलोमिटर पैदल हिँड्नुपर्ने अवस्था थियो ।
यही बीचमा मरिण गाउँपालिकाले पशुपालन व्यवसायलाई व्यवसायीकरण गर्दै आयआर्जन वृद्धि, गरिबी न्यूनीकरण तथा खाद्य पोषण सुरक्षामा योगदान पुर्याउने उद्देश्यले विशेष अनुदानमा उन्नत जातका मुर्रा भैँसी वितरण कार्यक्रम सञ्चालन गर्यो ।
सङ्घीय सरकारको सहयोग र गाउँपालिकाको आयोजनामा वडा नम्बर १, ६ र ७ का किसानलाई लक्षित गरी १ करोड २० लाख रुपियाँ बजेटमा कार्यक्रम अघि बढाइएको थियो ।

बजगाईँले यसलाई अवसरका रूपमा लिएर आवेदन दिनुभयो । केही महिनापछि उहाँले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा तीन ओटा उन्नत जातका मुर्रा भैँसी प्राप्त गर्नुभयो ।
“गाउँपालिकाले दिएको भैँसीबाट राम्रो उत्पादन भयो । त्यसपछि आत्मविश्वास बढ्यो र आफ्नै लगानीमा पनि भैँसी थप्दै गएँ ।”-उहाँ भन्नुहुन्छ ।
हाल उहाँको गोठमा सानाठुला गरी २१ ओटा भैँसी छन् । गाउँपालिकाले भैँसी, हिउँदे तथा वर्षे घाँसको बीउ, गोठ सुधारका लागि अनुदान तथा आवश्यकताअनुसार निःशुल्क पशु औषधिसमेत उपलब्ध गराउँदै आएको उहाँ बताउनुहुन्छ ।
मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानका अनुसार पालिकाले किसानको आवश्यकता अनुसार घाँसको बीउ, पशु उपचारका औषधि तथा निःशुल्क प्राविधिक सेवा उपलब्ध गराउँदै आएको छ ।
“किसानको हित र कृषि व्यवसाय प्रवर्द्धनका लागि पालिकाले कुनै कन्जुस्याइँ गरेको छैन ।”- अध्यक्ष मुक्तानले भन्नुभयो ।
बजगाईँको गोठमा रहेका भैँसीबाट अहिले दैनिक ९० लिटर दूध उत्पादन भइरहेको छ । उहाँका अनुसार पशुपालनबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ । विदेश छोडेर नेपाल फर्किएको निर्णयप्रति उहाँलाई कुनै पछुतो छैन ।
पालिकाबाट प्राप्त तीन भैँसीका पाडापाडीसमेत अहिले राम्रोसँग हुर्किरहेका छन् । यसले आगामी दिनमा व्यवसाय अझ विस्तार हुने अपेक्षा उहाँको छ ।
१६ सदस्यीय संयुक्त परिवारका सदस्यहरू अहिले पशुपालनमै सक्रिय छन् । आमा, बुबा, दाजु, भाउजू तथा छोराछोरी सबैले गोठ व्यवस्थापनमा सहयोग गर्ने भएकाले अतिरिक्त कामदार राख्नुपरेको छैन ।
“घरका सदस्यहरूले राम्रोसँग हेरचाह गर्ने भएकाले कहिलेकाहीँ कृषिसम्बन्धी तालिममा सहभागी हुन पनि सहज भएको छ ।”-बजगाईँ भन्नुहुन्छ ।
मरिण गाउँपालिकाकी पशु सेवा शाखा प्रमुख नीता खड्काका अनुसार कार्यक्रमको मुख्य उद्देश्य रोजगारी सिर्जना गर्दै गरिबी न्यूनीकरणमा योगदान पुर्याउनु हो ।
“विदेशबाट फर्किएर नेपालमै सफल व्यवसाय गरिरहेको देख्दा निकै खुसी लाग्छ ।”-उहाँले भन्नुभयो-“गाउँपालिकाले दिएको अनुदानको सही सदुपयोग गरेर सफलता हासिल गरेको उदाहरणले अन्य किसानलाई पनि प्रेरणा दिएको छ । यस्ता सफलताले आगामी दिनमा थप सहयोगमुखी कार्यक्रम सञ्चालन गर्न सहज बनाउँछ ।”
सुशील बजगाईँको कथा केवल एक कृषकको सफलता मात्र होइन, उचित अवसर, स्थानीय सरकारको सहयोग र व्यक्तिगत मेहनतले विदेशको रोजगारी छोडेर पनि स्वदेशमै सम्मानजनक जीवनयापन सम्भव छ भन्ने प्रेरणादायी उदाहरण हो ।