पोखरा । कास्की जिल्लामा जेठ महिनामा विभिन्न प्रकृतिका २ सय ३० ओटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार उक्त अवधिमा १ सय ७४ जना प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार २४ ओटा जघन्य तथा गम्भीर अपराध, १२ ओटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध, ९१ ओटा आर्थिक अपराध र १ सय ३ ओटा अन्य अपराधका मुद्दा दर्ता भएका छन् ।
यस अवधिमा ७० जना फरार प्रतिवादी पक्राउ परेका छन् भने १६ वर्ष ५ महिना १९ दिन कैद र १ करोड ७ लाख ९० हजार ५ सय ६० रुपियाँ बिगो असुल गरिएको छ ।
जेठ महिनामा लागुऔषध नियन्त्रणतर्फ १६ ओटा मुद्दा दर्ता भई २२ जना पक्राउ परेका छन् ।
प्रहरीले ब्राउन सुगर, गाँजा, ट्यापेन्टाडोल, नाइट्राजेपाम लगायतका विभिन्न लागुऔषध बरामद गरेको जनाएको छ ।
पोखरा महानगरपालिका-५ मा एक व्यक्तिको घरबाट ३८ हजार ३ सय ४० ट्यापेन्टाडोल चक्कीसहित एक जना पक्राउ परेको घटनालाई प्रमुख सफलताका रूपमा उल्लेख गरिएको छ ।
प्रहरी तथ्याङ्कअनुसार जेठ महिनामा १९ जनाले आत्महत्या गरेका छन् । तीमध्ये १६ जना पुरुष र तीन जना महिला रहेका छन् । झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा बढी १४ रहेको छ ।
महिनाभर १५ ओटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
ट्राफिक नियम उल्लङ्घन गर्ने ७ हजार २१ ओटा सवारीसाधनमाथि कारबाही गरी ५६ लाख ३५ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जेठ महिनामा लागुऔषध नियन्त्रण, साइबर अपराध, आत्महत्या रोकथाम, लैङ्गिक हिंसा, सडक सुरक्षा लगायत विषयमा १ सय ४२ ओटा कार्यक्रम सञ्चालन गरी ३ हजार ७ सय ७१ जनालाई सचेतना प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीले बताउनुभयो ।
विद्यालय केन्द्रित १५ ओटा कार्यक्रममार्फत थप १ हजार २ सय १८ विद्यार्थी सहभागी भएका थिए ।
प्रहरीले सार्वजनिक स्थल र फुटपाथ अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत पोखराका विभिन्न क्षेत्रमा फुटपाथमा पार्किङ गरिएका १ हजार १ सय ४८ सवारीसाधनलाई कारबाही गरेको जनाएको छ ।
‘स्वीप अप्रेसन’ मार्फत ३८ जना र सात ओटा सवारीसाधन नियन्त्रणमा लिइएको विवरणमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सचेतना अभिवृद्धिका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभएको छ ।