पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङले सुशासन, मानवअधिकार र शान्ति सुरक्षाको विषयमा आम नागरिक, समुदाय तथा परिवार स्वयम् सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
पोखरामा नागरिक समाजका अगुवा तथा वरिष्ठ मानवअधिकारकर्मी विष्णुप्रसाद बरालको नेतृत्वमा २०८३ असार ३ गते भएको नागरिक समाज तथा मानवअधिकारकर्मीहरूसँगको छलफलमा प्रजिअ गुरुङले शान्ति, सुरक्षा र सुशासन कायम गर्न प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले पोखरामा देखिएको सुकुम्बासी व्यवस्थापनको समस्या समाधानका लागि एक-दुई दिनभित्र सरोकारवालाहरूको बैठक बसी आवश्यक निर्णय गरिने जानकारी दिनुभयो ।
प्रजिअ गुरुङले पोखराको ट्राफिक तथा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण रहेको स्वीकार गर्दै नागरिक समाजले उठाएका सुशासन र मानवअधिकारसम्बन्धी मुद्दाहरू जायज र साझा चासोका विषय भएको बताउनुभयो ।
समस्याहरूलाई बुँदागत रूपमा लिखित सुझावका रूपमा पेश गर्न आग्रह गर्दै उहाँले सम्बन्धित निकायहरूसँग समन्वय गरी क्रमिक रूपमा सुधारात्मक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफलमा वरिष्ठ मानवअधिकारकर्मी विष्णुप्रसाद बरालले नागरिक समाज कुनै दर्ता भएको संस्था नभई आवाजविहीनहरूको आवाज उठाउने ‘लुज फोरम’ भएको स्पष्ट पार्दै सुशासन, पारदर्शिता र मानवअधिकार संरक्षणका लागि प्रशासनले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पोखरा महानगर क्षेत्रमा यातायात व्यवस्थापन, नगर बस तथा ट्याक्सी व्यवसायमा रहेको सिन्डिकेट, रात्रिकालीन समयमा बढ्दो लागुऔषध दुर्व्यसन तथा युवाहरूबाट हुने आपराधिक गतिविधिका कारण बजार क्षेत्र असुरक्षित बन्दै गएको बताउनुभयो ।
उहाँले अव्यवस्थित बसोबास र सार्वजनिक जग्गा अतिक्रमण हटाउने क्रममा उत्पन्न समस्याप्रति प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले जिल्ला प्रशासन तथा अन्य सरोकारवाला निकायका नीतिगत बैठकहरूमा नागरिक समाजको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
उहाँले सङ्घीय सरकारको निर्देशनमा सार्वजनिक जग्गा तथा सुकुम्बासी बस्तीमा भइरहेको अतिक्रमण हटाउने कार्यको स्वागत गर्दै विस्थापित हुने परिवारका लागि उचित आवास र रोजगारीको व्यवस्था गर्न सुझाव दिनुभयो ।
मानवअधिकार रक्षक सञ्जाल गण्डकी प्रदेश संयोजक रामहरि ढुङ्गानाले टिप्पर दुर्घटनाबाट निरन्तर मानवीय क्षति भइरहेको भन्दै विद्यालय तथा सरकारी कार्यालय खुल्ने र बन्द हुने समयमा टिप्पर सञ्चालनमा पूर्ण रोक लगाउन माग गर्नुभयो ।
उहाँले पोखरामा व्यवस्थित बधशालाको अभावका कारण खुला रूपमा पशुपन्छी वध हुने गरेको तथा धार्मिक क्षेत्र गुँदेताल आसपास विकृति बढ्दै गएको विषय पनि उठाउनुभयो ।
छलफलमा नागरिक समाजका प्रतिनिधिहरू खेमप्रसाद पौडेल, प्रेमप्रसाद पौडेल, टङ्कप्रसाद चापागाईं, सावित्रा अधिकारी घिमिरे र जुना केसीले प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले महत्वपूर्ण कास्की जिल्लामा शान्ति, सुरक्षा र सुशासन कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो ।