पोखरा । वैदेशिक रोजगारीका अवसर र चुनौतीबारे सरोकारवालाहरूले स्थानीय तहसम्म सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको प्रभावकारिता बढाउन समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
वैदेशिक रोजगारीमा जाने नागरिकलाई सही सूचना, सीप तथा परामर्श उपलब्ध गराउन सके आप्रवासनलाई सुरक्षित, व्यवस्थित र उपलब्धिमूलक बनाउन सकिने निष्कर्ष निकालिएको छ ।
“स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने नारासहित गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा, स्वीस सरकार विकास सहयोग एसडीसी) को सहयोगमा प्रदेशसभाको श्रम तथा रोजगार तथा स्वास्थ्य सम्बन्धी विषयगत समितिका सदस्यहरूसँग वैदेशिक रोजगार तथा पुनःएकीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको हो ।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले वैदेशिक रोजगारीका कारण उत्पन्न मनोसामाजिक समस्या तथा अन्य चुनौतीलाई सम्बोधन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
उहाँले विदेशबाट फर्केका श्रमिकलाई सम्मानजनक पुनःस्थापना गर्ने वातावरण सिर्जना गर्दै वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत व्यवस्था र प्रभावकारी कार्ययोजना कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सामाजिक विकास तथा कृषि समितिकी सभापति दमयन्ती रुचालले श्रम र वैदेशिक रोजगारी एकअर्कासँग अन्तरसम्बन्धित विषय भएकाले प्रदेश सभाबाट निर्माण हुने ऐन तथा कानुनमा वैदेशिक रोजगारीका मुद्दालाई प्राथमिकताका साथ समेट्नुपर्ने बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारीमा जाने युवाका लागि पूर्वतयारी तथा सचेतनामूलक कार्यक्रम र विदेशबाट फर्किएका युवाका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्नु संघ, प्रदेश र स्थानीय सरकारको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्य भक्तबहादुर कुँवरले वैदेशिक रोजगारीमा जानेहरूले भोग्ने समस्याको न्यूनीकरण तथा उनीहरूको सीपको सदुपयोगमा सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य सुनिता थापाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन सामी कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै यसले श्रमिकलाई सही सूचना र सीप प्रदान गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्य लिलबहादुर थापामगरले वैदेशिक रोजगारीसम्बन्धी सूचना प्रवाह, वित्तीय साक्षरता तथा पुनःएकीकरणसम्बन्धी सेवाहरू स्थानीय तहसम्म विस्तार गर्नुपर्ने र रोजगार सेवा केन्द्रहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्य श्यामराजा महतले वैदेशिक रोजगारी तथा आप्रवासनबाट सिर्जित मनोसामाजिक समस्यालाई गम्भीरतापूर्वक लिएर मनोसामाजिक परामर्शलाई अनिवार्य बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभा सदस्य दिलमाया पौवीले सामी कार्यक्रमले आप्रवासी श्रमिक र तिनका परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै कार्यक्रमलाई समयसापेक्ष ढंगले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आप्रवासन अभ्यास, आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८३ (मस्यौदा) लगायत सुरक्षित वैदेशिक रोजगारीसँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो ।
मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुङ्गानाले सुरक्षित आप्रवासन सम्बन्धमा मन्त्रालयले चालु आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम, आगामी आर्थिक वर्षका प्रस्तावित योजना तथा संघीय र प्रदेशस्तरीय गतिविधिबारे प्रस्तुति दिनुभएको थियो ।
सामी–हेल्भेटासका प्रदेश कार्यक्रम संयोजक उमा शर्माले सामी कार्यक्रमको परिचय, वैदेशिक रोजगारीको वर्तमान अवस्था तथा मानसिक स्वास्थ्यमा वैदेशिक रोजगारीले पारेको प्रभावबारे प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा समूहगत अन्तरक्रियाबाट प्राप्त निष्कर्षहरू प्रस्तुत गर्दै तिनलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल गरिएको थियो ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत अञ्जना शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशसभाको श्रम तथा रोजगार तथा स्वास्थ्यसम्बन्धी विषयगत समितिका सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।