पोखरा । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि स्थानीय स्तरमा जनशक्तिलाई दक्ष बनाउने उद्देश्यले आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी दुईदिने तालिम पोखरामा सुरु भएको छ ।
“मानवताका लागि एकबद्ध होऔँ” भन्ने नारासहित नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखाको लैङ्गिक तथा समावेशीकरण समितिको आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी महानगरपालिका-१७, छोरेपाटन उपशाखाको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको हो ।
तालिम २०८३ जेठ ३० गतेदेखि उपशाखाको सभाहलमा सुरु भएको हो । तालिमले स्थानीय तहमा विपद् व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गरी आपत्कालीन अवस्थामा छिटो तथा प्रभावकारी रूपमा काम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उद्घाटन सत्रका प्रमुख अतिथि युनिका फाउन्डेसन नेदरल्यान्डका नेपालका लागि कन्ट्री डाइरेक्टर रमेश पौडेलले हेनरी ड्युनाँको तस्बिरमा पुष्प अर्पण तथा पानसमा दीप प्रज्वलन गरी तालिमको उद्घाटन गर्नुभएको थियो ।
उहाँले रेडक्रसको स्वयम्सेवी भावना र मानवीय उद्देश्यलाई कायम राख्दै स्पष्ट मार्गनिर्देशनका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
रेडक्रसले गर्दै आएका मानवीय सेवाका कार्यलाई अझ प्रभावकारी बनाउँदै सङ्गठनलाई थप सुदृढ बनाउन सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।
कास्की रेडक्रससँग व्यक्तिगत तथा संस्थागत तहबाट निरन्तर सहकार्य र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
दुईदिने तालिममा नेपाल रेडक्रस सोसाईटी कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्का तथा प्रशिक्षक नवराज भण्डारीले सहजीकरण गर्नुहुनेछ ।
कार्यक्रममा रेडक्रसका सात सिद्धान्तको वाचन उपशाखा-१७ की सदस्य सविता भण्डारी सुवेदीले गर्नुभएको थियो ।
कार्यक्रममा कास्की जिल्ला शाखाकी सभापति उर्मिला खड्का, निवर्तमान सभापति डण्डराज शर्मा, उपसभापति तथा कार्यक्रम संयोजक रमा कोइराला, मन्त्री सन्तोष अधिकारीलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विपद्का बेला रेडक्रसका सात सिद्धान्तलाई आत्मसात् गरी अग्रपङ्क्तिमा रहेर काम गर्न आग्रह गर्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी महानगरपालिका-१७, छोरेपाटन उपशाखाकी सभापति लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे उपसभापति एवम् कार्यक्रम संयोजक विना लोहनीले प्रकाश पार्नुभएको थियो भने सञ्चालन सचिव चुडामणि बरालले गर्नुभएको थियो ।
तालिममा यशस्कर सदस्य, विशिष्ट सदस्य, आजीवन सदस्य, विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र कास्की जिल्लाका ४८ उपशाखाका अध्यक्ष तथा सदस्य गरी ७५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।