पोखरा । अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै छनोट हुनुभएका पोखराका प्रतिभाशाली विद्यार्थी एरिज पोखरेलले यतिबेला गम्भीर द्विविधामा परेको बताउनुभएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानले हालै सार्वजनिक गरेको नयाँ प्रवेश परीक्षा तालिकाका कारण अन्तर्राष्ट्रिय गणित ओलम्पियाड र आईओई प्रवेश परीक्षाको मिति जुध्न पुगेपछि उहाँसहित नेपालका अन्य ओलम्पियाड सहभागी विद्यार्थीहरू तनावमा परेका हुन् ।
विश्वकै प्रतिष्ठित शैक्षिक प्रतियोगितामध्ये एक मानिने अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२६ को प्रशिक्षण शिविर २१ जुन २०२६ (असार ७, २०८३) देखि सुरु हुँदैछ भने मुख्य प्रतियोगिता १० जुलाईदेखि २१ जुलाई २०२६ सम्म चीनमा आयोजना हुँदैछ ।
यस प्रतियोगितामा करिब १ सय २० देशका ७ सय जनाभन्दा बढी उत्कृष्ट विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
गणितीय सङ्घ नेपालका अनुसार नेपालले सन् २०१७ देखि अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागिता जनाउन थालेको हो ।
त्यसयता नेपालले निरन्तर रूपमा आफ्नो प्रदर्शनमा सुधार गर्दै आएको छ । यस वर्ष पनि नेपालबाट ६ जना उत्कृष्ट विद्यार्थीहरूको टोली प्रतियोगितामा सहभागी हुँदैछ, जसबाट उल्लेखनीय उपलब्धिको अपेक्षा गरिएको छ ।
तर, यही समयमा आईओईले प्रवेश परीक्षाको नयाँ तालिका सार्वजनिक गर्दै परीक्षा १२ जुलाई २०२६ देखि सञ्चालन हुने जनाएको छ ।
यसअघि सार्वजनिक गरिएको शैक्षिक पात्रोअनुसार आईओई प्रवेश परीक्षा साउन १५ देखि भदौ १५ भित्र सञ्चालन हुने अपेक्षा गरिएको थियो ।
सोही आधारमा विद्यार्थीहरूले आफ्नो अध्ययन योजना, परीक्षा तयारी तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूको व्यवस्थापन गरेका थिए ।
तर, अचानक प्रकाशित संशोधित तालिकाले हजारौँ विद्यार्थीको तयारीमा प्रत्यक्ष असर पुर्याएको छ । यसबाट प्रभावित हुनेमध्ये विद्यार्थी एरिज पोखरेल पनि एक हुनुहुन्छ ।
उहाँले पोखरास्थित न्यू मोडल माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गर्नुभएको हो । उत्कृष्ट शैक्षिक उपलब्धिका कारण उहाँले २०८० सालमा पोखरा महानगरपालिकाद्वारा सञ्चालित कक्षा ११ छात्रवृत्ति प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्नुभएको थियो ।
त्यसपछि उहाँले एसओएस हर्मन माइनर विद्यालय, गण्डकीमा कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नुभयो ।

एरिज र उहाँ भाइ अनिज पोखरेलले विज्ञान, गणित तथा सामान्य ज्ञानका विभिन्न प्रतियोगिताहरूमा लगातार सफलता हासिल गर्दै आउनुभएको छ । उहाँहरूको निरन्तर उत्कृष्ट प्रदर्शनका कारण शैक्षिक वृत्तमा “पोखरेल ब्रदर्स” का रूपमा चिन्ने गरिन्छ ।
कक्षा १० मा एरिजले पहिलो पटक राष्ट्रिय गणित ओलम्पियाडमा सहभागिता जनाउनुभएको थियो । उक्त प्रतियोगितामा उहाँले नेपालभरकै सर्वाधिक अङ्क प्राप्त गर्दै सबैको ध्यान आकर्षित गर्नुभएको थियो ।
एकातिर विश्वकै प्रतिष्ठित गणित प्रतियोगितामा नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर छ भने अर्कोतर्फ उनको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको आईओई प्रवेश परीक्षा पनि सोही अवधिमा सञ्चालन हुँदैछ ।
यो समस्या एरिजमा मात्र सीमित छैन। अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालका तर्फबाट सहभागी हुन लागेका अन्य विद्यार्थीहरू पनि यस्तै परिस्थितिबाट गुज्रिरहेका छन् ।
विशेषगरी इन्जिनियरिङ, कम्प्युटर विज्ञान तथा प्राविधिक शिक्षा अध्ययन गर्ने लक्ष्य राखेका विद्यार्थीहरूका लागि यो अवस्था थप चुनौतीपूर्ण बनेको छ ।
विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने विद्यार्थीहरूका लागि विशेष सहुलियत तथा समन्वयको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनीहरूका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नु व्यक्तिगत उपलब्धि मात्र नभई राष्ट्रिय गौरवको विषय हो।
एरिज पोखरेलसहित सम्बन्धित विद्यार्थीहरूले आईओई तथा सरोकारवाला निकायहरूसँग प्रवेश परीक्षा तालिकाको पुनर्विचार गर्न आग्रह गरेका छन् ।