मानव आवाज

२०८३ जेष्ठ २८ गते
00: 00: 00
२०८३ जेष्ठ २८ गते

अनुसन्धानमूलक लेखनसम्बन्धी चारदिने तालिम सम्पन्न

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित चारदिने अनुसन्धानमूलक लेखन तालिम २०८३ जेठ २७ गते सम्पन्न भएको छ ।

पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिका–७ स्थित महासङ्घको सभाकक्षमा आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रशिक्षक त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्यालले पत्रकारितालाई केवल तालिमको विषय नभई गहिरो प्राज्ञिक अध्ययन र अनुसन्धानको क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले पत्रकारिता क्षेत्रको बौद्धिक विकास र अनुसन्धानमुखी अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउँदै नेपालमा ‘मानव सञ्चार’ सम्बन्धी विज्ञहरूको अभाव रहेको उल्लेख गर्नुभयो ।

तालिममा त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विभागकै डा. श्रीराम पौडेल, डा. कपिल अधिकारी तथा पृथ्वीनारायण क्याम्पस पोखराका मानवशास्त्र विभागका प्राध्यापक अमृतकुमार भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी पत्रकार फडिन्द्र अधिकारी र सुष्मा नेपालीले तालिम अनुसन्धानमूलक लेखनतर्फ पहिलो अनुभव भए पनि अत्यन्तै उपयोगी र फलदायी रहेको प्रतिक्रिया दिँदै सिकेको ज्ञान र सीपलाई आगामी दिनमा व्यवहारमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष माधव बरालले पत्रकारिता क्षेत्रलाई अझ व्यावसायिक र परिष्कृत बनाउन यस्तो तालिम महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँका अनुसार महासङ्घले विगतमा पनि विभिन्न तालिम सञ्चालन गरे पनि यो कार्यक्रम विशेष र फरक प्रकृतिको रहेको थियो ।

Author

Share the News

Recent News

Related News