मानव आवाज

२०८३ जेष्ठ २८ गते
00: 00: 00
२०८३ जेष्ठ २८ गते

पोखराबाट फ्लाई दुबईको दैनिक उडान हुने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को एयरलाइन्स फ्लाई दुबईले आगामी २३ सेप्टेम्बर २०२६ देखि दैनिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ ।

आवश्यक सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि कम्पनीले पोखराबाट नियमित उडान सञ्चालनका लागि अनुमति प्राप्त गरेको हो ।

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेका गण्डकी प्रदेशवासीका लागि यो खबर अत्यन्तै उत्साहजनक बनेको छ ।

यससँगै पोखराको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय सम्पर्क विस्तारमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आवागमन सहज हुनुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा यो महत्वपूर्ण उपलब्धि मानिएको छ ।

केही दिनअघि फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका विषयमा छलफल गर्नुभएको थियो ।

भेटका क्रममा पोखरा-दुबई हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्धनका अवसर, उड्डयन सुरक्षाका मापदण्ड तथा दुई पक्षीय हितका विषयमा विचार आदानप्रदान भएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईले अनुमति प्राप्त गरेको जानकारी दिँदै दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३ सयभन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुने बताउनुभयो ।

फ्लाई दुबईका उपाध्यक्ष एड्रियन लुकाजले पोखराको प्राकृतिक सौन्दर्यबाट आफू प्रभावित भएको उल्लेख गर्दै कम्पनीको उडान सेवा पोखरासम्म विस्तार हुन सके यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँ उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन तथा एयरलाइन सञ्चालनका क्षेत्रमा अनुभवी विज्ञका रूपमा परिचित हुनुहुन्छ ।

Author

Share the News

Recent News

Related News