पोखरा । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रमेश पौडेल सम्मानित हुनुभएको छ ।
पौडेल वंश महासङ्घ गण्डकी प्रदेशद्वारा आयोजित तेस्रो साधारणसभाको अवसरमा पत्रकारिता क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।
रेडियो बाराही प्रालिका कार्यकारी निर्देशक तथा गोरखापत्र संस्थान गण्डकी प्रदेश ब्युरो प्रमुखसमेत रहेका पौडेललाई २०८३ जेठ २३ गते आयोजित कार्यक्रममा सम्मान गरिएको महासङ्घका केन्द्रीय अध्यक्ष हरेराम पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेय तथा होटल व्यवसायी महासंघ नेपालकी केन्द्रीय उपाध्यक्ष सुनिता पन्त पौडेललाई समेत सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष हरेराम पौडेलले वंशीय एकता, आपसी सद्भाव तथा सामाजिक उत्तरदायित्व प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको महासङ्घले गण्डकी प्रदेशका विभिन्न जिल्लामा सङ्गठन विस्तारलाई तीव्रता दिएको बताए ।
सम्मानित व्यक्तित्व रमेश पौडेलले महासङ्घले युवा पुस्तालाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ शारदा पौडेलले समुदायको इतिहास, संस्कृति, वंशावली संरक्षण तथा सामाजिक एकतालाई थप सुदृढ बनाउन महासङ्घको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश सरकारका महान्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले वंशावली अभिलेखीकरण, सामाजिक सद्भाव, शिक्षा तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा महासंघले गरेका गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रामजी पौडेलले गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा पौडेल समुदायको बसोबास रहेको जानकारी दिनुभयो ।
प्रदेश सचिव धनञ्जय शर्मा पौडेलले प्रदेशभर जिल्ला, महानगर, नगर तथा पालिका समितिहरू गठन गरी संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने कार्य भइरहेको बताउनुभयो ।
प्रा.डा. कृष्ण पौडेलले वंशावलीमा एकरूपता कायम गर्न आवश्यक रहेको धारणा राख्नुभयो । साधारणसभामा आगामी कार्यकालका लागि सङ्गठन सुदृढीकरण, वंशावली सङ्कलन, सामाजिक सेवा तथा युवा सहभागिता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम अघि बढाइने जानकारी समेत दिइएको थियो ।