मानव आवाज

२०८३ जेष्ठ २३ गते
00: 00: 00
२०८३ जेष्ठ २३ गते

‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानमा ६ हजार बिरुवा थपिए

पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखराका विभिन्न स्थानमा वृक्षारोपण तथा सरसफाई कार्यक्रमहरू सम्पन्न भएका छन् ।

वातावरण संरक्षण, हरियाली प्रवर्धन र स्वच्छताको चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रमहरूमा विभिन्न सामाजिक सङ्घसंस्था, टोल विकास संस्था तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो ।

डेभिजफल क्लबको आयोजना तथा गुप्तेश्वर सिर्जनशील मञ्च र डेभिजफल टोल विकास संस्थाको सहकार्यमा पोखरा महानगरपालिका-१७ स्थित डेभिजफल क्षेत्रमा जेठ २२ गते वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमअन्तर्गत क्लब तथा टोल विकास संस्थाले संरक्षण गर्दै आएको पार्कमा विभिन्न प्रजातिका ७९ बिरुवा रोपिएको छ ।

कार्यक्रममा बोल्दै डेभिजफल क्लबका अध्यक्ष दीपक सुवेदीले वृक्षारोपण अभियानले स्थानीय वातावरण संरक्षणसँगै पोखरा महानगरपालिकाको “ग्रिन पोखरा, क्लिन पोखरा” अभियानलाई टेवा पुग्ने बताउनुभयो। उहाँले रोपिएका बिरुवाको नियमित संरक्षण, गोडमेल तथा वातावरणीय स्वच्छता प्रवर्धनमा सबैले जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

गुप्तेश्वर सिर्जनशील मञ्चका अध्यक्ष शिवम शाहीले आफ्नो टोल तथा समुदायलाई सफा, स्वच्छ र हराभरा बनाउन सरकारी निकायको मात्र मुख ताक्नुभन्दा नागरिक स्वयम् अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

टोल विकास संस्थाका अध्यक्ष कृष्ण मल्लले सामाजिक कार्यहरूमा आपसी सहकार्य र समन्वयलाई निरन्तरता दिन सके मात्र संस्थागत सफलता हासिल गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा गुप्तेश्वर महिला जागरण समूहका सदस्यहरूको पनि सहभागिता रहेको थियो । क्लबका पूर्वअध्यक्ष तथा सामाजिक अभियन्ता पुष्प बराल, निवर्तमान अध्यक्ष बिनाम गुरुङलगायतले वातावरण संरक्षणमा सामुदायिक सहभागिताको महत्वबारे धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव गणेश जीसीले गर्नुभएको थियो ।

यसै अवसरमा मितेरी नारी समूहको विशेष सक्रियतामा हिमागृह नजिक फेवाताल किनार तथा बसुन्धरा पार्क क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम पनि सम्पन्न भएको छ ।

पोखराका अन्य विभिन्न स्थानमा समेत सामाजिक सङ्घसंस्था र स्थानीय समुदायको पहलमा वृक्षारोपण तथा सरसफाइ अभियान सञ्चालन गरिएको थियो ।

विश्व वातावरण दिवसका अवसरमा पोखरा महानगरपालिकाभित्र विभिन्न कार्यक्रममार्फत करिब ६ हजार बिरुवा रोपिएको जनाइएको छ ।

वातावरण संरक्षण र हरियाली प्रवर्धनका यस्ता अभियानले स्वच्छ, सुन्दर र दिगो पोखरा निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Author

Share the News

Related News