मानव आवाज

२०८३ जेष्ठ २३ गते
00: 00: 00
२०८३ जेष्ठ २३ गते

विश्व खाद्य स्वच्छता दिवसमा खाद्य पोषण तालिम सम्पन्न

पोखरा । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमहरूले खाद्य सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

“खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता” भन्ने मूल नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराको आयोजना तथा पोखरा महानगरपालिका-१७ को समन्वयमा विश्व खाद्य स्वच्छता दिवस-२०८३ अन्तर्गत साताव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ ।

सोही कार्यक्रमअन्तर्गत खाद्य पोषण तालिम बिहीबार वडा नं. १७ को सभाकक्षमा सम्पन्न भएको हो ।

यस वर्ष “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” भन्ने नाराका साथ जेठ १८ देखि २४ गतेसम्म विभिन्न जनचेतनामूलक तथा अनुगमनात्मक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कार्यक्रमकी प्रमुख अतिथि तथा पोखरा महानगरपालिका-१७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले खाद्य पदार्थको उचित भण्डारण, सरसफाईका मापदण्ड र पोषणयुक्त आहारको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञानको आवश्यकता औंल्याउनुभयो ।

खाद्य स्वच्छता र पोषण मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले उत्पादन, प्रशोधन, बिक्री तथा उपभोगका प्रत्येक चरणमा स्वच्छता कायम गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सुरक्षित र गुणस्तरीय खाद्य पदार्थको प्रयोगमार्फत स्वस्थ समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले खाद्य स्वच्छता प्रवर्धन तथा उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साताव्यापी कार्यक्रमअन्तर्गत खाद्य पोषण तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

तालिममा पोखरा महानगरपालिकाका वडा नं. ७, १७, २१ र २२ का स्वास्थ्य स्वयम्सेविका तथा विभिन्न आमा समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

९० जना महिलाको सहभागिता रहेको तालिममा सैद्धान्तिक तथा व्यवहारिक दुवै कक्षा सञ्चालन गरिएको थियो ।

तालिममा पोषण र यसको महत्व, सन्तुलित आहार, कुपोषण, पोषण अवस्थाका सूचक तथा मापन, खाद्य स्वच्छता, सुरक्षित खाद्य उत्पादन तथा उपभोग, खाद्यजन्य रोगबाट बच्ने उपाय र स्वस्थ खानपानको महत्वबारे जानकारी प्रदान गरिएको थियो ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यद्वय विक्रम गुरुङ र शिवराम भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै पोषण र स्वस्थ खानपानका विषयमा धारणा राख्नुभएको थियो ।

यसैबिच, विश्व खाद्य स्वच्छता दिवसकै अवसरमा पोखरा महानगरपालिका-१७ स्थित शिशु निकेतन माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूलाई नसर्ने रोग न्यूनीकरणका लागि खाने बानीमा सुधारसम्बन्धी सचेतना कार्यक्रम पनि सम्पन्न गरिएको छ । कार्यक्रममा विद्यार्थी र शिक्षक गरी १ सय २ जनाको सहभागिता रहेको थियो ।

Author

Share the News

Related News