पोखरा । “खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता” भन्ने मूल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले विश्व खाद्य स्वच्छता दिवस-२०८३ साताव्यापी कार्यक्रमसहित मनाउने भएको छ ।
कार्यालयले २०८३ जेठ १८ गते आयोजित पत्रकार सम्मेलनमार्फत यस वर्षको विश्व खाद्य स्वच्छता दिवस “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” भन्ने नारासहित २०८३ जेठ १८ देखि २४ गतेसम्म विभिन्न जनचेतनामूलक तथा अनुगमनात्मक कार्यक्रम गरी मनाइने जानकारी दिएको हो ।
कार्यक्रममा कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले खाद्य स्वच्छता प्रवर्धन तथा उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साताव्यापी कार्यक्रम तय गरिएको बताउनुभयो ।
उहाँका अनुसार २०८३ जेठ १८ गते ब्यानर टाँस्ने, प्रेस विज्ञप्ति प्रकाशन गर्ने तथा कार्यालय परिसर र प्रयोगशाला सरसफाइ गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी जेठ १९ देखि जेठ २३ गतेसम्म बजार, होटल, रेष्टुरेन्ट तथा उद्योगहरूको अनुगमन, विद्यालयस्तरीय सचेतना कार्यक्रम र सुरक्षित खानेपानी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
जेठ २४ गते विशेष समारोहका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइने तयारी गरिएको छ ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्रेष्ठले खाद्य स्वच्छता कायम राख्न स्थानीय तहको भूमिका, प्रभावकारी अनुगमन संयन्त्र तथा उपभोक्ताको अधिकार महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
खाद्य स्वच्छता ऐन-२०८३ बमोजिम कार्यालयलाई प्राप्त अधिकार र जिम्मेवारीबारे जानकारी दिँदै उहाँले स्थानीय तहसँगको समन्वयलाई थप सुदृढ बनाएर खाद्य स्वच्छताको अवस्था सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले खाद्य वस्तुमा हुने मिसावट, अखाद्य रङको प्रयोग तथा अनुचित प्रविधिको प्रयोगले जनस्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। यस्ता गतिविधि न्यूनीकरण गर्न कार्यालयले सचेतनामूलक अभियान, नियमित अनुगमन तथा नियमनलाई थप कडाइका साथ अघि बढाउने जनाएको छ ।
खाद्य स्वच्छता जनस्वास्थ्यको अभिन्न पक्ष भएकाले यसमा सरकारी निकाय, स्थानीय तह, व्यवसायी र उपभोक्ता सबैको समान जिम्मेवारी रहेको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा केही चुनौती देखिए पनि स्थानीय तहको नेतृत्वमा अझ प्रभावकारी नियमन तथा अनुगमन कार्य सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।
कार्यालयका सूचना अधिकारी शिवजी बरालले विश्व स्वास्थ्य सङ्गठनका अनुसार असुरक्षित खानाका कारण विश्वभर प्रत्येक वर्ष लाखौं मानिस विभिन्न रोगबाट प्रभावित हुने गरेको जानकारी दिनुभयो ।
यस वर्षको नाराले असुरक्षित खानाबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न तथ्यमा आधारित, लक्षित र किफायती उपायहरूको अवलम्बन गर्नुपर्ने सन्देश दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्रेष्ठले खाद्य सुरक्षा र स्वच्छता जस्तो संवेदनशील विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आमनागरिक, सरोकारवाला निकाय तथा सञ्चारमाध्यमको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले खाद्य स्वच्छता प्रवर्धनमा सबै पक्षको साझा प्रतिबद्धता र सहभागिताले मात्र स्वस्थ समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।