पोखरा । “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित नेपाल बालमजदूर सरोकार केन्द्र (सिविन–नेपाल) पोखराको आयोजनामा बालबालिकासम्बन्धी नीतिगत व्यवस्था तथा त्यसको कार्यान्वयन अवस्थाबारे सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम २०८३ जेठ १३ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा बाल अधिकारको समग्र पक्ष, बालबालिका सम्बन्धी वर्तमान नीतिगत व्यवस्था, तिनको कार्यान्वयन तथा प्रभावकारिताबारे गहन समूहगत छलफल गरिएको थियो ।
सिविन–नेपालका अध्यक्ष माधव प्रधानले कार्यक्रमको मुख्य उद्देश्य बालबालिकासम्बन्धी नीतिहरूको कार्यान्वयनमा देखिएका चुनौती पहिचान गर्दै सुधारका उपाय खोज्नु रहेको बताउनुभयो ।
उहाँले बालबालिकाको क्षेत्रमा कार्यरत सरोकारवालाबाट प्राप्त सुझावले नीति कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव हरिबहादुर खपाङ्गीले प्रदेशस्तरमा बालबालिका सम्बन्धी नीति तथा त्यसको कार्यान्वयन अवस्थाबारे सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी सिविन–नेपालका कार्यक्रम निर्देशक धुव्र गौतमले राष्ट्रिय बालबालिका नीति–२०८०, यसको कार्यान्वयन तथा राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) सम्बन्धमा प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नविन कार्की, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, गैसस गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, राष्ट्रिय बालअधिकार परिषद्का समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, कोपिला नेपालकी कार्यकारी निर्देशक बिना शिलवाल तथा महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेलले बालबालिकाको संरक्षण र प्रवर्धनका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
सिविन–नेपालका अध्यक्ष माधव प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे कार्यक्रम निर्देशक धुव्र गौतमले प्रकाश पार्नुभएको थियो भने सञ्चालन सिबिन पोखराका संयोजक शङ्कर नेपालीले गर्नुभएको थियो ।