मानव आवाज

२०८३ जेष्ठ १२ गते
00: 00: 00
२०८३ जेष्ठ १२ गते

बाल संरक्षण मापदण्ड र सुकुम्बासी बस्तीका बालबालिकाको सवालमा छलफल

पोखरा । भ्वाइस अफ चिल्ड्रेन को संयोजनमा बालअधिकारका लागि नागरिक समाज (बालअधिकार मञ्च) को नियमित बैठक २०८३ जेठ ११ गते पोखरामा सम्पन्न भएको छ ।

बैठकमा बाल संरक्षण, सडक आश्रित बालबालिकाको उद्धार, सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षा, बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने लगायतका ६ ओटा महत्त्वपूर्ण प्रस्तावमाथि छलफल गर्दै विभिन्न निर्णय गरिएको हो ।

बैठकले सरकारद्वारा तय गरिएको बाल संरक्षण मापदण्ड सबै सदस्य सङ्घसंस्थाले अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ ।

साथै एउटै समुदाय वा लक्षित समूहमा धेरै संस्थाले काम गर्दा सेवाग्राहीमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले सङ्घसंस्थाबिच समन्वय बढाई दोहोरोपन अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।

पोखरा महानगरपालिका-९ पृथ्वीचोक नजिकैको चाइना पुल क्षेत्रमा एक महिला आफ्ना दुई साना बालबालिकासहित अलपत्र अवस्थामा रहेको विषयमा बैठकले ध्यानाकर्षण जनाएको छ । उनीहरूको उद्धार तथा संरक्षणका लागि पहल गर्ने निर्णय समेत गरिएको छ ।

बैठकमा पोखराका सुकुम्बासी बस्ती हटाउने क्रममा त्यहाँका विद्यालय र बालबालिकाको मानव अधिकार तथा दैनिक जीवन प्रभावित भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको थियो ।

यस विषयमा जेठ १३ गते पोखरा महानगरपालिका का उपमेयरलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरिएको छ ।

ध्यानाकर्षण पत्रमार्फत गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा भाडा तिर्न नसक्ने विपन्न वर्गका लागि खाद्यान्न, स्वास्थ्य र संरक्षणसम्बन्धी योजना ल्याउन महानगरसँग माग गरिने जनाइएको छ ।

बैठकले आगामी जुन १२ मा पर्ने ‘बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ पोखरामा विशेष रूपमा मनाउने निर्णय पनि गरेको छ ।

सो अवसरमा पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा ३ सय १२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयस्तरमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

पोखरालाई बालश्रममुक्त बनाउन होटल व्यवसायी, रेष्टुरेन्ट, बार तथा श्रम मन्त्रालयलगायत सरोकारवाला निकायसँग सहकार्य गरेर संयुक्त कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव समेत अघि सारिएको छ ।

त्यसैगरी, नीतिगत असहजता हटाउन विभिन्न राजनीतिक दलका सांसदहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सेवाग्राहीले भोगिरहेका समस्याको समाधानका लागि स्पष्ट ऐन कानुन निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।

बैठकमा विद्यालय तथा समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्दा सङ्घसंस्थाबिच आपसी समन्वय र साझा उद्देश्यका आधारमा अघि बढ्ने सहमति भएको छ ।

यस विषयलाई थप प्रभावकारी बनाउन राष्ट्रिय बालअधिकार परिषद् का प्रदेश समन्वय अधिकृत बद्री वाग्ले मार्फत एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

बैठकमा बेलकुमारी गुरुङ, विष्णुकुमार मल्ल, सुरेन्द्र परियार, गणेश भण्डारी, रमेश सुवेदी, सिर्जना विक, कास्मिता कार्की, विजय राई, सुष्मा खनाल, अञ्जना पौडेल, मोना गिरी, केशव पौडेल, बिना सिलवाल, रमेश खड्का, सुवेग पाण्डे तथा अधिकारकर्मी केशु भुजेल लगायतको सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News