पोखरा । नेतृत्व विकास तथा जनवकालतसम्बन्धी तालिमले राज्य, नागरिक समाज र समुदायबीच सहकार्य अभिवृद्धि गर्न तथा लैङ्गिक हिंसा, विभेद र अन्यायविरुद्ध प्रभावकारी कदम चाल्न थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ ।
मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपाल कास्कीको आयोजना तथा पोखरा महानगरपालिका-२६ को सहयोगमा “सीमान्तकृत महिलाहरूका लागि नेतृत्व विकास तथा जनवकालत” विषयक तीनदिने तालिम सम्पन्न भएको हो ।
पोखरा महानगरपालिका-२६ अर्घौचोकमा २०८३ जेठ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएको तालिममा ५० जना महिला लाभान्वित भएका छन् ।
कार्यक्रममा वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले यस्ता तालिमहरूले स्थानीय तहमा सीमान्तकृत महिलाहरूको आवाज सशक्त बनाउन तथा उनीहरूको नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले तालिमले सहभागी महिलाहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै नीति निर्माण तहमा उनीहरूको सहभागिता सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशकी प्रमुख नितु गर्तौलाले परम्परागत विषयभन्दा दिगोपना र समय सान्दर्भिकतालाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले मानव अधिकार प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार भएकाले यसको संरक्षण राज्यको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै उजुरी प्रणालीलाई प्रभावकारी बनाउने, पीडितमैत्री न्याय सुनिश्चित गर्ने तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यस्ता क्षमता अभिवृद्धि तालिमहरूले मानव अधिकार र सामाजिक न्याय प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा प्रशिक्षक भक्तराज रसाइलीले सहजीकरण गर्नुभएको थियो ।
सहभागीहरूका तर्फबाट अञ्जना विक, शुसिला विक र ज्योति विकले तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिँदै सिकेका अनुभव समुदायस्तरसम्म साझा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम इश्वरी विकको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे संस्थाकी सदस्य बविता विकले प्रकाश पार्नुभएको थियो भने सञ्चालन सचिव सपना विकले गर्नुभएको थियो ।