मानव आवाज

२०८३ जेष्ठ ८ गते
00: 00: 00
२०८३ जेष्ठ ८ गते

चिल्ड्रेन नेपालद्वारा ४ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पोखरा आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका, दलित, जनजाति, विपन्न तथा जोखिममा रहेका ४ सय बालबालिकालाई लक्षित गर्दै चिल्ड्रेन नेपाल पोखराले नयाँ शैक्षिक सत्र २०८३ को सुरुवातसँगै शैक्षिक सामग्री, विद्यालय पोशाक तथा जुत्ता वितरण गरेको छ ।

संस्थाले विभिन्न विद्यालयमा अध्ययनरत तथा सहयोग प्राप्त गरिरहेका बालबालिकालाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले शैक्षिक सामग्री र विद्यालय पोशाक उपलब्ध गराएर बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्नु, नियमित विद्यालय उपस्थितिमा प्रोत्साहन गर्नु, विद्यालय छोड्ने दर न्यूनीकरण गर्नु तथा समान अवसरसहित गुणस्तरीय शिक्षामार्फत उनीहरूको समग्र शैक्षिक विकास र आत्मविश्वास अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

उहाँका अनुसार यस्ता सहयोगात्मक कार्यक्रमले बालबालिकालाई विद्यालयमा टिकाइराख्न, आत्मविश्वास बढाउन तथा गुणस्तरीय शिक्षातर्फ आकर्षित गर्न सकारात्मक प्रभाव पारिरहेको छ ।

चिल्ड्रेन नेपालले विशेषगरी दलित समुदाय, विपन्न, जोखिममा रहेका तथा शैक्षिक अवसरबाट वञ्चित बालबालिकालाई लक्षित गर्दै शिक्षा पहुँच, बाल संरक्षण, जीवन सीप तथा सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

चालु आर्थिक वर्षमा संस्थाले कन्या माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, श्रीकृष्ण माध्यमिक विद्यालय, बराही माध्यमिक विद्यालय, पार्दी माध्यमिक विद्यालय, नवप्रभात माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय, सहारा आधारभूत विद्यालय, श्रीराम आधारभूत विद्यालय तथा धर्मस्थली आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको जनाएको छ ।

पोखरा महानगरपालिका-१७ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष राधिकाकुमारी शाहीले चिल्ड्रेन नेपालले समुदायमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, बाल संरक्षण तथा क्षमता विकासका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले स्थानीय तहले बालमैत्री वातावरण निर्माण तथा सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न विभिन्न पहल गरिरहेको उल्लेख गर्दै गैरसरकारी संस्थासँगको सहकार्यले यस्ता कार्यक्रम अझ प्रभावकारी बन्ने धारणा राख्नुभयो ।

श्रीकृष्ण माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका-७ का वडा अध्यक्ष राममोहन आचार्यले चिल्ड्रेन नेपालले बालबालिकाको शिक्षा तथा सशक्तीकरण क्षेत्रमा पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण र प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले विशेषगरी विपन्न तथा दलित समुदायका बालबालिकालाई विद्यालयमा टिकाइराख्न यस्ता कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

चिल्ड्रेन नेपालका कार्यक्रम अधिकृत रमेश सुबेदीका अनुसार यस शैक्षिक सत्रमा पोखरा महानगरपालिका लगायत विभिन्न विद्यालयका ४ सय बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक तथा जुत्ता वितरण गरिएको छ ।

कार्यक्रममा सहभागी बालबालिका तथा अभिभावकहरूले नयाँ शैक्षिक सत्रको सुरुवातमै आवश्यक सामग्री प्राप्त हुँदा नियमित विद्यालय उपस्थितिमा वृद्धि हुनुका साथै अध्ययनप्रतिको उत्साह बढेको प्रतिक्रिया दिएका थिए ।

Author

Share the News

Recent News

Related News