मानव आवाज

२०८३ जेष्ठ ७ गते
00: 00: 00
२०८३ जेष्ठ ७ गते

सम्भावित दुर्घटना न्यूनीकरणका लागि विपद् उद्धार कृत्रिम घटना अभ्यास सम्पन्न

पोखरा । आसन्न मनसुनजन्य विपद्का घटनामा प्रभावकारी उद्धार तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा विपद् उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ ।

जिल्ला सुरक्षा समिति कास्कीको आयोजना तथा कृष्णदल गण फुलबारी ब्यारेक, जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण मुख्यालय कालिका गणको सहकार्यमा मनसुनजन्य विपद् उद्धार कृत्रिम घटना अभ्यास कार्यक्रम २०८३ जेठ ७ गते पोखरा महानगरपालिका-६ स्थित बसुन्धरा पार्क, फेवाताल क्षेत्रमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा नियमित सचेतना तथा पूर्वतयारी आवश्यक रहेको बताउनुभयो ।

उहाँले विपद्का समयमा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

पर्यटकीय क्षेत्रमा हुने सम्भावित दुर्घटनालाई रोक्न तथा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको उद्धार क्षमता अभिवृद्धि आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै पोखरा तालैतालको शहरका रूपमा परिचित भएकाले यहाँका तालहरूले पर्यटन र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आसन्न मनसुनका बेला हुन सक्ने बाढी, पहिरो तथा ताल क्षेत्रमा हुन सक्ने दुर्घटनामा सुरक्षा निकायहरूले कसरी छिटो र प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक अभ्यास गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस्ता अभ्यासले विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउन मद्दत पुग्नेछ ।

साथै कास्कीको विविध भूगोल, नदी तथा तालतलैयाका कारण बर्सेनि बाढी, पहिरो, डुबान र हावाहुरीजस्ता प्राकृतिक प्रकोपको जोखिम रहने भएकाले यस्ता अभ्यासहरू अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका क्रममा सुरक्षाकर्मीहरूले सम्भावित विपद्का समयमा तत्काल उद्धारका लागि अपनाइने विभिन्न विधि तथा अभ्यास प्रदर्शन गरेका थिए ।

कार्यक्रमको सञ्चालन कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गर्नुभएको थियो ।

कार्यक्रममा पश्चिम पृतना मुख्यालय विजयपुरका पृतनापति (उपरथी) भोलानाथ थापा, नं. ३ बाहिनी अड्डा खैरेनीटारका बाहिनीपति सहायक रथी सन्तोष कार्की, नं. ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, राष्ट्रिय अनुसन्धान गण्डकी प्रदेशका अनुसन्धान निर्देशक प्रजेश सिंह, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीलगायत विभिन्न सरकारी कार्यालय, सङ्घसंस्था, राजनीतिक दल तथा स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी चार ओटै सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय, जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय आमा समूह तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले वरको विरुवासमेत रोप्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News