पोखरा । कृषि उत्पादनसँगै कृषि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘स्थानीय उत्पादन प्रवर्धन गरौं, रसिलो, ताजा र स्वादिलो स्थानीय तरबुजा उपयोग गरौँ’ भन्ने नारा सहित पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा ‘तरबुजा मेला-२०८३’ सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका, वडा नं. १३ तथा महानगरको आर्थिक विकास महाशाखाको आयोजनामा र वडास्तरीय कृषि सञ्जाल पोखरा-१३ को व्यवस्थापनमा जेठ ५ गते वडा कार्यालय परिसरमा मेला आयोजना गरिएको हो ।
मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्ता कार्यक्रमले कृषकलाई प्रोत्साहन पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय उत्पादनको प्रवर्धन तथा कृषकको उत्पादनलाई बजारको सुनिश्चितता गर्न महानगर प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
यस अवसरमा पोखरा महानगर क्षेत्रभित्र सबैभन्दा बढी क्षेत्रफलमा तरबुजा खेती गर्ने चार जना कृषकलाई सम्मान गरिएको थियो ।
३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने बाघमारा पशुपालन तथा कृषि फर्म, पोखरा-३३ तिखेढुङ्गाका सञ्चालक रमेश आचार्यलाई नगद १० हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरी २४ रोपनी क्षेत्रफलमा खेती गर्ने कृष्ति हिल कृषि तथा पशुपन्छी फर्म, पोखरा-२१ का सञ्चालक ज्ञानबहादुर कार्कीलाई ७ हजार रुपियाँ, २२ रोपनी क्षेत्रफलमा खेती गर्ने एस बराल कृषि फर्मका सञ्चालक सुन्दर बराललाई ५ हजार रुपियाँ तथा २० रोपनी क्षेत्रफलमा खेती गर्ने मणिदिप कृषि फर्म, पोखरा-१३ का सञ्चालक श्रीधर बराललाई ३ हजार रुपियाँसहित सम्मान गरिएको छ ।
मेलामा कृषक सम्मानका साथै तरबुजा दौड, तरबुजा खाने प्रतियोगिता तथा तरबुजा क्विज कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
प्रतियोगिताका विजेताहरूलाई पुरस्कारस्वरूप तरबुजा प्रदान गरिएको थियो । साथै, सबैभन्दा ठूलो तथा मिठो तरबुजा उत्पादन गर्ने कृषक र उत्कृष्ट स्टल व्यवस्थापनकर्तालाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले स्थानीय स्तरमा उत्पादित तरबुजाको प्रदर्शनीसँगै सहुलियत दरमा बिक्री वितरण गरिएको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव डा. प्रेरणा सेढाई भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई, महाशाखा प्रमुख मनहर कडरिया तथा तरबुजा कृषकहरूले पोखरामा तरबुजा उत्पादनको अवस्था, बजारीकरण, खेती विस्तार र सम्भावनाबारे धारणा राख्नुभएको थियो ।
एकदिने मेलामा दर्शकको उल्लेख्य सहभागिता रहेको र करिब २० हजार किलो तरबुजा बिक्री भएको आयोजकले जनाएको छ ।
मेलामा ३२ ओटा स्टल राखिएको थियो भने प्रतिकिलो ५५ रुपियाँमा तरबुजा बिक्री गर्दा खरिदकर्ताको उल्लेख्य भीड लागेको वडास्तरीय कृषि सञ्जाल पोखरा-१३ का अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष किरण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य वडास्तरीय कृषि सञ्जाल पोखरा-१३ का अध्यक्ष नरेन्द्र अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पत्रकार घनश्याम पाण्डेले गर्नुभएको थियो ।