पोखरा । पोखरा महानगरपालिका-१३ मा आज तेस्रो संस्करणको ‘तरबुजा मेला-२०८३’ आयोजना गरिएको छ ।
कृषि उत्पादनसँगै कृषि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं. १३ र महानगरको कृषि विकास महाशाखाको आयोजनामा तथा वडास्तरीय कृषि सञ्जाल पोखरा-१३ को व्यवस्थापनमा मेला सञ्चालन हुन लागेको हो ।
मेला जेठ ५ गते वडा कार्यालय परिसरमा आयोजना गरिनेछ । मेलामा स्थानीय स्तरमा उत्पादन गरिएको तरबुजाको प्रदर्शनीसँगै सहुलियत दरमा बिक्री वितरण गरिने आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेलामा सबैभन्दा ठूलो तरबुजा उत्पादन गर्ने, धेरै क्षेत्रफलमा खेती गर्ने तथा सबैभन्दा गुलियो तरबुजा उत्पादन गर्ने कृषकलाई सम्मान गरिनेछ ।
आयोजकका अनुसार कार्यक्रमका आकर्षणका रुपमा तरबुजा प्रदर्शनी प्रतियोगिता, ठुलो तरबुजा प्रतियोगिता, निशुल्क स्वाद परीक्षण, परिकार प्रदर्शनी, प्राविधिक जानकारी, बाली उपचार शिविर, सफल किसानको अनुभव, खाने प्रतियोगितालगायत रहेका छन् ।
महानगरपालिकाले कृषकलाई तरबुजा खेतीतर्फ आकर्षित गर्न बीउ तथा मल्चिङ प्लास्टिक खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको जनाएको छ ।
हाल महानगरका वडा नं. १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ मा व्यावसायिक रूपमा तरबुजा खेती भइरहेको छ । यस वर्ष करिब २० रोपनी क्षेत्रफलमा तरबुजा खेती गरिएको बताइएको छ ।
स्थानीय किसानका अनुसार पोखरामा उत्पादन हुने तरबुजा स्वादिलो हुनुका साथै रासायनिक मलको प्रयोग कम हुने भएकाले उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ ।
पोखरा-१३ का वडाध्यक्ष किरण बरालले कृषकको पसिना र मेहनतको सम्मान गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो । यसले कृषकको व्यवसाय प्रवर्धनमा थप सहयोग पुग्ने उहाँको विश्वास छ ।
यस वर्ष असिना र निरन्तर वर्षाका कारण केही क्षति भए पनि उत्पादन उत्साहजनक रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
अहिले बजारमा स्थानीय तरबुजा प्रतिकिलो ५० देखि ६० रुपियाँसम्ममा बिक्री भइरहेको छ भने करिब ४ सय टन उत्पादन हुने अनुमान गरिएको छ ।