पोखरा । बालबालिकाको क्षेत्रमा क्रियाशील सामाजिक संस्था असल छिमेकी सहयोग सङ्घ (गोनेसा) पोखराले ‘बालबालिका विद्यालय भर्ना सहयोग कार्यक्रम’ अन्तर्गत जेहेन्दार तथा अति विपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ ।
दातृ संस्था भिस्पे इटाली को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८३/८४ का लागि ४ सय ५० जना बालबालिकालाई विद्यालय भर्ना सहयोग, पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले बालबालिकाको शिक्षामा गोनेसाले उदाहरणीय भूमिका निर्वाह गरेको बताउँदै शिक्षा बालबालिकाको नैसर्गिक अधिकार भएकाले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने धारणा राख्नुभयो ।
उहाँले शैक्षिक सामग्री तथा पोशाकले बालबालिकाको अध्ययनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री कार्कीले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क रहेको उल्लेख गर्दै विद्यार्थीको प्रतिभा र क्षमता पहिचान गरी सोहीअनुसारको शिक्षा प्रणाली लागू गर्न आवश्यक रहेको बताउनुभयो । साथै सामाजिक संस्थाहरूले राज्यलाई शिक्षा क्षेत्रमा सहयोग पुर्याइरहेको भन्दै प्रशंसा गर्नुभयो ।
संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीले गोनेसाले विगत २६ वर्षदेखि अनौपचारिक तथा सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष पनि ४ सय ५० भन्दा बढी बालबालिकालाई विद्यालय पोशाक, कापी, कलम, झोला, जुत्ता र मोजा लगायत सामग्री वितरण गरिएको हो ।
कार्यकारी निर्देशक शिवराज शर्माले संस्थाले नयाँ शैक्षिक सत्रसँगै जाडो महिनामा न्यानो कपडा तथा वर्षमा दुई पटक शैक्षिक सामग्री र स्वास्थ्य सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार दिलबहादुर गुरुङले बालबालिकालाई शिक्षा, संस्कार र राम्रो वातावरण दिन सके भविष्यमा उनीहरू समाजका असल व्यक्ति बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका अन्य वक्ताहरूले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै चाउचाउ, कुरकुरे र बर्गरजस्ता पत्रु खाना नखान आग्रह गरेका थिए ।
संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव श्यामनाथ कुँवरले गर्नुभएको थियो ।