पोखरा । छोरेपाटन माध्यमिक विद्यालयले यस वर्षको एसइई परीक्षामा कास्की जिल्लाका सरकारी विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ ।
विद्यालयले उक्त सफलताको अवसरमा २०८३ जेठ १ गते बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।
यस वर्ष विद्यालयका तीन जना विद्यार्थीले पूर्ण ४ जीपीए प्राप्त गरेका छन् । सम्मानित हुने विद्यार्थीहरूमा शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेल रहनुभएको छ । उहाँहरूलाई जनही रु. ७ हजार नगदसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।
त्यसैगरी, १०औँ पोखरा स्पोर्ट्स अवार्डमा ‘वर्ष खेलाडी’ (एथलेटिक्स) घोषित छात्रा नारायणी भण्डारीलाई विद्यालयले रु. ५ हजार नगद पुरस्कार प्रदान गरेको छ ।
विद्यालयका अनुसार एसइई परीक्षामा कुल १ सय ८१ जना विद्यार्थी सहभागी भएकोमा १ सय ५४ जना अर्थात् ८५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ हुन सफल भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर अधिकारीले पोखराको पर्यटकीय महत्त्व तथा अभिभावकको मागलाई ध्यानमा राख्दै यसै वर्षदेखि विद्यालयमा होटल व्यवस्थापन विषयको पठनपाठन सुरु गरिने जानकारी दिनुभयो ।
उहाँले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको इमानदार प्रयासकै कारण यस्तो नतिजा सम्भव भएको उल्लेख गर्दै आगामी वर्ष अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा भुसालले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहायक प्रधानाध्यापकद्वय खेमराज बराल र मेघनाथ पौडेल, शिक्षकहरू मनोज भट्टराई, महादेव पौडेल, दिव्येश्वरी रेग्मी तथा अभिभावक नवराज बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसअघि २०८१ सालको एसइई परीक्षामा पनि विद्यालयकी छात्रा श्रेया लामिछानेले ४ जीपीए हासिल गर्दै विद्यालयको गौरव बढाउनुभएको थियो ।