मानव आवाज

२०८३ बैशाख २९ गते
00: 00: 00
२०८३ बैशाख २९ गते

कृत्रिम बुद्धिमत्ता (एआई) तालिम अपरिहार्य : वरिष्ठ पत्रकार शर्मा

पोखरा ।पत्रकारितामा मल्टिमिडिया तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना, पोखरा महानगरपालिकाको सहयोग तथा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन)को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

पोखरा महानगरपालिकाको सहयोगमा आयोजित तालिमको समापन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष माधव शर्माले ज्ञान र सीप सधैं सार्थक हुने बताउनुभयो ।

उहाँले घरमा प्रयोग हुने चक्कु, बन्चरो जस्ता सामग्रीलाई समय–समयमा धार लगाउनुपर्ने र गाडीलाई नियमित मर्मत तथा सर्भिसिङ गर्नुपर्ने उदाहरण दिँदै पत्रकारितामा पनि समयानुकूल ज्ञान र सीप अभिवृद्धिका लागि यस्ता तालिम अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

“सीप सिक्नु आफैंमा ठूलो अवसर हो। सीपले मानिसलाई आत्मनिर्भर, सक्षम र आत्मविश्वासी बनाउँछ। आजको समयमा औपचारिक शिक्षा मात्र होइन, व्यवहारिक सीप पनि उत्तिकै महत्वपूर्ण छ,” उहाँले भन्नुभयो ।

वरिष्ठ पत्रकार शर्माले आफूले यसअघि एआईसम्बन्धी तालिम नलिएकाले तालिमबारे सुन्दा नै आश्चर्य लागेको अनुभवसमेत सुनाउनुभयो ।

उहाँले सामाजिक सञ्जाल र युट्युबमा भाइरल हुने बहानामा केही व्यक्तिले भ्रमपूर्ण अफवाह फैलाउने गरेको उल्लेख गर्दै एआईको दुरुपयोग नगरी जिम्मेवार र तथ्यपरक पत्रकारितामा यसको समुचित प्रयोग गर्न आग्रह गर्नुभयो ।

तालिमको पहिलो दिन सन्तोष पन्तले सहजीकरण गर्नुभएको थियो भने दोस्रो र तेस्रो दिन नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन)का संस्थापक रजनीश भण्डारीले मल्टिमिडियाको प्रयोग, पत्रकारितामा एआईको उपयोग तथा कन्टेन्ट क्रिएसनका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भूपाल गुरुङले गर्नुभएको थियो ।

तालिम २०८३ वैशाख २७ गतेदेखि पोखरा महानगरपालिका-७ स्थित महासङ्घको सभाकक्षमा सञ्चालन गरिएको थियो ।

तालिममा पोखरामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Author

Related News