पोखरा । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा गण्डकी आयुर्वेद औषधालय, पोखरा महानगरपालिका, सुरक्षा निकाय, सञ्चारकर्मी तथा उपभोक्ता मञ्चसहितको संयुक्त बजार अनुगमन टोलीले २०८३ वैशाख २९ गते पोखरा महानगरपालिका-१० क्षेत्रमा सञ्चालित आयुर्वेदिक औषधि पसल तथा क्लिनिक/अस्पतालहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।
अनुगमनका क्रममा म्याद नाघेका तथा औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि फेला परेपछि सात व्यवसायलाई कारबाही गरिएको हो ।
अनुगमनका क्रममा साधना आयुर्वेद क्लिनिकबाट ८ हजार ८४ रुपियाँ बराबरका म्याद नाघेका औषधि नष्ट गरिएको छ ।
त्यसैगरी नेचर केयर होम प्रालिबाट २६ हजार ३ सय ९० रुपियाँ बराबरका म्याद नाघेका तथा विभागमा दर्ता नभएका औषधि नष्ट गरिएको छ ।
फेमिली आयुर्वेद फार्मेसीबाट ५ हजार ९ सय ५० रुपियाँ बराबरका विभागमा दर्ता नभएका औषधि नष्ट गरिएको छ भने पोखरा हेल्दी होम्सबाट १९ हजार ९१ रुपियाँ बराबरका म्याद नाघेका तथा दर्ता नभएका औषधि नष्ट गरिएको टोलीले जनाएको छ ।
अनुगमनमा पञ्चम् आयुर्वेदिक फर्मा, रश्मी आयुर्वेद क्लिनिक प्रालि र आरोग्य होम प्रालिको समेत निरीक्षण गरिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार अनुगमनका क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि बिक्री वितरण नगर्न, म्याद नाघेका औषधि छुट्टै भण्डारण गर्न, कानुनले तोकेको न्यूनतम जनशक्ति व्यवस्थापन गरेर मात्र फार्मेसी, क्लिनिक वा अस्पताल सञ्चालन गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी व्यवसाय सञ्चालनका लागि आवश्यक दर्ता, नवीकरण तथा सञ्चालन अनुमति समयमै लिन र अनावश्यक तथा भ्रमपूर्ण पोस्टर तथा बोर्ड तत्काल हटाउन समेत निर्देशन दिइएको उहाँले बताउनुभयो ।