पोखरा। पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा खुकुरीसहित ‘ग्याङ फाइट’ गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले २०८३ वैशाख २७ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा अनुसन्धान गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार २०८३ वैशाख २२ गते राति करिब ११:३० बजे पोखरा महानगरपालिका-२ स्थित बाग्लुङ बसपार्क क्षेत्रमा दुई समूहबिच झडप भएको थियो ।
घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले अनुसन्धान थालेका थिए ।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई बाझापाटन र बाग्लुङ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा पोखरा-१३ का २७ वर्षीय सुजन आले मगर, मादी गाउँपालिका-११ घर भई हाल पोखरा-१३ बस्दै आएका २३ वर्षीय राजेश परियार, गोरखा धार्चे गाउँपालिका-६ घर भई हाल पोखरा-१३ बस्दै आएका ३० वर्षीय दिलराम गुरुङ उर्फ ‘दिपेश’ रहेका प्रहरीले जनाएको छ ।
यस्तै, नुवाकोट घर भई हाल पोखरा-२ बाग्लुङ बसपार्क बस्दै आएका १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ तथा पोखरा-२ निवासी २० वर्षीया लिजा पुन पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनाको मुख्य कारण लागूऔषध कारोबारसँग सम्बन्धित रहेको खुलेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
