पोखरा । पोखरामा आयोजना गरिएको ‘माछापुच्छ्रे सम्वाद-२०८३’ ले वर्तमान आवश्यकता सम्बोधन गर्दै जलवायु परिवर्तनका चुनौती समाधानतर्फ सहयोगी बन्ने विश्वास व्यक्त गरिएको छ ।
‘हिमालका लागि ऐक्यबद्धता, हाम्रो साझा भविष्यका लागि कार्य’ भन्ने मूल नारासहित वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र सेभ आवर हिमालय फर्स्ट, नेपालको संयुक्त आयोजनामा कार्यक्रम सुरु भएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसको सहयोगमा ‘अन्नपूर्ण जलवायु सम्मेलन-२०८३’ अन्तर्गत यो सम्वाद २०८३ वैशाख २२ गतेदेखि पोखरामा सञ्चालनमा आएको छ ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिमालसँग हाम्रो पहिचान, संस्कृति, पर्यटन, पानीको स्रोत, जैविक विविधता र अर्थतन्त्र गहिरो रूपमा जोडिएको बताउनुभयो ।
उहाँले गण्डकी प्रदेश हिमाल, पहाड, नदी, तालतलैया तथा प्राकृतिक सम्पदाले समृद्ध प्रदेश भएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी लगायतका हिमश्रृङ्खलाले केवल प्राकृतिक सौन्दर्य मात्र नभई यहाँका लाखौं नागरिकको जीवनयापन र समृद्धिको आधार निर्माण गरेको बताउनुभयो ।
विश्वव्यापी जनसङ्ख्या वृद्धि, शहरीकरण, औद्योगीकरण तथा जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण हरितगृह ग्यास उत्सर्जन बढ्दै गएको र त्यसले विश्व तापक्रम वृद्धि भई जलवायु परिवर्तनको गम्भीर असर देखिएको उहाँको भनाइ थियो ।
तापक्रम वृद्धि, हिमनदी तीव्र गतिमा पग्लिनु, हिमताल विस्तार हुनु, अनियमित वर्षा, बाढी, पहिरो, खडेरी, वन डढेलो तथा जैविक विविधतामा आएको ह्रासले पर्वतीय पारिस्थितिक प्रणाली सङ्कटमा परेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
जलवायु परिवर्तनकै प्रभावका कारण सन् २०१२ को मेमा अन्नपूर्ण क्षेत्रमा आएको हिमपहिरोका कारण सेती नदीमा विनाशकारी बाढी आई कास्कीको माछापुच्छ्रे गाउँपालिकाको खारापानी क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनालाई स्मरण गर्दै उहाँले यस्ता विपद् हरेक वर्ष दोहोरिने अवस्था रहेको उल्लेख गर्नुभयो ।
उहाँले यस्ता पीडादायी घटनाबाट पाठ सिक्दै भविष्य सुरक्षित गर्ने उपाय खोज्नु सम्वादको उद्देश्य रहेको बताउनुभयो ।
जलवायु परिवर्तन साझा समस्या भएकाले यसको समाधान पनि साझा प्रयासबाट मात्र सम्भव हुने उहाँले स्पष्ट पार्नुभयो ।
दुई दिनसम्म सञ्चालन हुने सम्वादमा ‘क्लाइमेट चेन्ज एण्ड डिजास्टर’, ‘क्लाइमेट चेन्ज गभर्नेन्स एण्ड कम्युनिटी इन्टरफेस’ र ‘क्लाइमेट चेन्ज एण्ड रिभाइभल’ गरी तीन विषयगत क्षेत्रमा १५ जना विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममार्फत जलवायु परिवर्तनका प्रभाव, जोखिम तथा समाधानका उपायबारे नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार, समुदाय प्रतिनिधि तथा युवाबीच सार्थक छलफल हुने अपेक्षा गरिएको छ ।
यस सम्वादबाट प्राप्त ज्ञान, सुझाव र निष्कर्षले गण्डकी प्रदेशको जलवायु अनुकूलन तथा उत्थानशील कार्ययोजना कार्यान्वयन, विपद् जोखिम न्यूनीकरण रणनीति तथा दिगो विकासका प्रयासलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
कार्यक्रमका वक्ताहरूले प्रकृतिसँग सङ्घर्ष होइन, सहकार्य आवश्यक रहेको उल्लेख गर्दै हिमाल संरक्षणलाई जीवन र विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषयका रुपमा बुझ्नुपर्ने बताए ।
कार्यक्रम सेभ आवर हिमालय फर्स्ट, नेपालका अध्यक्ष दिलबहादुर नेपालीको अध्यक्षतामा सञ्चालन भएको थियो भने स्वागत मन्तव्य वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका वन तथा वातावरण महाशाखा प्रमुख शिवप्रसाद श्रेष्ठले व्यक्त गर्नुभएको थियो ।