पोखरा । समुन्नत समाज निर्माण गर्ने उद्देश्यसहित स्थापना भएको सामाजिक संस्था सृजना विकास केन्द्र, पोखराले आफ्नो पञ्चवर्षीय रणनीतिक योजनाको मसौदामाथि एकदिवसीय छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम २०८३ वैशाख १९ गते पोखरामा आयोजना गरिएको हो ।
कार्यक्रममा केन्द्रका निर्वतमान अध्यक्ष तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बरालले बदलिँदो परिवेशअनुसार संस्थाका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले संस्थाले स्थापना कालदेखि नै समाजलाई प्रगतिशील दिशामा अघि बढाउँदै समयसापेक्ष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
बरालका अनुसार आगामी पञ्चवर्षीय रणनीतिक योजनामा समसामयिक, प्रभावकारी तथा दिगो विकाससँग सम्बन्धित कार्यक्रमहरू समावेश गरिनेछ ।
उहाँले योजना निर्माण भए पनि कार्यान्वयनमा कमजोर हुने प्रवृत्ति मुख्य चुनौतीका रूपमा रहेको बताउनुभयो ।
उहाँले सामाजिक सेवाको अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्ति, कृषि तथा पर्यटन क्षेत्रको सशक्तीकरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
संस्थाका सल्लाहकार सभा सभापति लिलाधर बरालले २०४४ फागुन १ गतेदेखि संस्थाले विभिन्न कार्यक्रममार्फत विशेषगरी शिक्षाबाट वञ्चित बालबालिका तथा बहिरा बालबालिकाको शिक्षामा योगदान पुर्याउँदै आएको जानकारी दिनुभयो ।
पूर्व अध्यक्ष तथा समाजसेवी हरिप्रसाद बरालले संस्थाले बालबालिकाको पारिवारिक पुनर्स्थापना, उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था स्थापना, द्वन्द्व प्रभावित बालबालिकाका लागि शिक्षा, स्वास्थ्य तथा आवासीय सेवा, साथै सृजना खानेपानी परियोजना सञ्चालन गरेको उल्लेख गर्नुभयो ।
संस्थाका सदस्य भीमप्रसाद पौडेलले महिला लघुऋण परियोजनामार्फत महिलाको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले सृजना बैङ्किङ लघुवित्त कार्यक्रमलाई २०७५ फागुन मसान्तदेखि ‘जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड’ मा रूपान्तरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा स्वतन्त्र परामर्शदाता छवि गौडेलले संस्थाको पञ्चवर्षीय रणनीतिक तथा व्यावसायिक योजनाका सम्भावना, अवसर र चुनौतीबारे सहजीकरण गर्नुभएको थियो ।
छलफलमा सहभागी पदाधिकारी तथा सदस्यहरूले आगामी कार्यक्रम तथा परियोजनाबारे सुझाव राखेका थिए ।
संस्थाका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष बालकृष्ण बरालले गर्नुभएको थियो ।