मानव आवाज

२०८३ बैशाख १९ गते
00: 00: 00
२०८३ बैशाख १९ गते

आनन्द मार्गद्वारा पोखरा वृद्धाश्रममा औषधि वितरण

पोखरा । आनन्द मार्ग प्रचारक सङ्घ नेपालले वैशाख शुक्ल पूर्णिमाका अवसरमा पोखरास्थित एक वृद्धाश्रममा औषधि वितरण गरेको छ ।

श्रीश्री आनन्दमूर्ति जीको १०५औँ आविर्भाव दिवस तथा २५७०औँ बुद्ध पूर्णिमाको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रम २०८३ वैशाख १८ गते पोखरा महानगरपालिका-१७, सितापाइलामा सम्पन्न भएको हो ।

कार्यक्रममा सङ्घका अध्यक्ष विष्णुप्रसाद बरालले साधना, सेवा र त्याग मानव जीवनका आधारभूत पक्ष रहेको उल्लेख गर्दै आध्यात्मिक साधना पद्धतिको आवश्यकता अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले आनन्द मार्गलाई नैतिकवान् मानव निर्माण गर्ने आध्यात्मिक संस्था भएको उल्लेख गर्दै यसका व्यवहारिक, सामाजिक तथा आध्यात्मिक आदर्शहरू श्रीश्री आनन्दमूर्तिद्वारा विश्वमै पहिलोपटक प्रतिपादन गरिएको दाबी गर्नुभयो ।

उहाँका अनुसार आनन्द मार्गका मूल्यमान्यता आचरण, साधना र शिक्षाबिना व्यवहारमा उतार्न सम्भव छैन ।

हाल सङ्घले १९ जिल्लामा शाखामार्फत सेवा प्रदान गर्दै आएको र सात ओटा मिसन स्कुल सञ्चालनमा रहेको जानकारी पनि उहाँले दिनुभयो ।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले आध्यात्मिक संस्थाबाट प्राप्त स्वास्थ्य सामग्रीले वृद्धवृद्धाको स्वास्थ्य अधिकारमा सकारात्मक योगदान पुगेको भन्दै आभार व्यक्त गर्नुभयो ।

उहाँका अनुसार करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त वृद्धाश्रममा हाल २४ महिला र १५ पुरुष गरी ३९ जना बसोबास गर्दै आएका छन्, जसमा २४ वर्षदेखि ९२ वर्षसम्मका नागरिक रहेका छन् । संस्थामा ११ जना कर्मचारीले सेवा दिइरहेका छन् ।

कार्यक्रममा समाजसेवी तथा आनन्द मार्गी धुव्रराज चालिसे, कल्पना बाँस्तोला, कास्कीका भुक्तीप्रदान नेत्रनारायण पौडेल, सचिव गङ्गाराम पौडेल तथा ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष भेषराज लम्साललगायतले मन्तव्य राख्दै श्रीश्री आनन्दमूर्तिको योगदानबारे प्रकाश पारेका थिए ।

हिन्दू धर्ममा भगवान् बुद्धलाई विष्णुको नवौँ अवतार मानिने भएकाले हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा बुद्ध जयन्ती मनाउने परम्परा रहेको उल्लेख गर्दै देश तथा विदेशका गुम्बा तथा विभिन्न स्थानमा विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइँदै आएको छ । सरकारले बुद्ध जयन्तीका दिन सार्वजनिक बिदा दिने गरेको छ ।

Author

Share the News

Recent News

Related News