मानव आवाज

२०८३ बैशाख १७ गते
00: 00: 00
२०८३ बैशाख १७ गते

लक्षित वर्गको जीवनस्तर सुधारमा सामाजिक संस्थाको भूमिका अपरिहार्य : प्रजिअ शर्मा

पोखरा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सामाजिक तथा गैरसरकारी संस्थाहरूले विपन्न तथा पछाडि पारिएका वर्गको जीवनस्तर सुधारमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै बजेटको पारदर्शी प्रयोग र सचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

पोखरामा २०८३ वैशाख १७ गते आयोजित श्रमिक बालबालिकाको सामाजिक एकीकरण मञ्च (चिल्ड्रेन-नेपाल) ले आर्थिक वर्ष २०८१/८२ को सामाजिक लेखाजोखा परीक्षण कार्यक्रममा प्रजिअ शर्माले सो कुरा बताउनुभएको हो ।

उहाँले कार्यक्रम सञ्चालनका क्रममा विनियोजित बजेटको पारदर्शी प्रयोगबारे खुला छलफल हुनु सकारात्मक अभ्यास भएको उल्लेख गर्नुभयो ।

विपन्न, पछाडि पारिएका महिला तथा बालबालिकाको सेवा र सचेतना अभिवृद्धि अबको प्राथमिकता हुनुपर्नेमा उहाँको जोड रहेको छ ।

पोखरा महानगरपालिका–७ स्थित संस्थाको सभाकक्षमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै चिल्ड्रेन-नेपालले विगत ३१ वर्षदेखि अनौपचारिक बस्तीमा बसोबास गर्ने बालबालिकाको शिक्षामा निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले संस्थाले बालअधिकार प्रवर्धन, महिला सशक्तीकरण, सामाजिक रूपान्तरण, जलवायु परिवर्तन न्यूनीकरण तथा वातावरण संरक्षण जस्ता क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आर्चायले राज्यसँगै सामाजिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो । आगामी दिनमा वडास्तरमा समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइने उहाँको प्रतिबद्धता थियो ।

सामाजिक लेखाजोखा सहजकर्ता तथा रेडियोकर्मी दिपेन्द्र श्रेष्ठले “सामाजिक उत्तरदायित्व प्रवर्धन निर्देशिका २०७७” अनुसार संस्थाद्वारा सञ्चालन गरिएका कार्यक्रमहरूको समिक्षात्मक प्रस्तुति गर्नुभएको थियो । प्रस्तुतिमा कार्यक्रमको लक्ष्य, उपलब्धि, चुनौती तथा सिकाइका पक्षहरू समेटिएका थिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत टङ्कप्रसाद खनाल, गैरसरकारी संस्था महासङ्घ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्मा, पोखरा महानगरपालिकाका अधिकृत अर्जुन न्यौपाने तथा बहिनी एडुकेयर फाउण्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारलगायतले संस्थाको आगामी कार्ययोजनालाई थप प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो ।

कास्की, तनहुँ, पर्वत तथा काठमाडौं उपत्यकामा कार्यक्षेत्र रहेको चिल्ड्रेन-नेपालका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५५ जनाभन्दा बढी सरोकारवालाको सहभागिता रहेको थियो।

Author

Related News