मानव आवाज

२०८३ बैशाख १७ गते
00: 00: 00
२०८३ बैशाख १७ गते

सवारी व्यवस्थापन सुदृढीकरणमा कास्कीको जोड

पोखरा । जिल्ला यातायात व्यवस्थापन समिति कास्कीको बैठक कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा २०८३ वैशाख १६ गते सम्पन्न भएको छ ।

बैठकले यातायात व्यवस्था ऐन, २०४९ बमोजिम जिल्लामा सवारी आवागमन र ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने विषयमा विभिन्न निर्णय गरेको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारका एक सय कार्यसूची अन्तर्गत यातायात व्यवस्थापनसँग सम्बन्धित बुँदाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी, सडक पूर्वाधार सुधार, ट्राफिक व्यवस्थापन सुदृढीकरण तथा सेवामा अनुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

बैठकमा सार्वजनिक सवारीसाधनमा सीसीटीभी र जीपीएस जडान गर्ने विषयमा यातायात व्यवसायीसँग छलफल गरिएको थियो ।

पाइलट परियोजनाअन्तर्गत जडान गरिने प्रविधिको प्रकार र कार्यान्वयन प्रक्रियाबारे समेत विचारविमर्श भएको हो ।

कुन प्रकारको सीसीटीभी र जीपीएस प्रणाली विश्वसनीय हुन्छ भन्ने विषयमा छलफल गर्दै त्यसका लागि आवश्यक लागत उच्च हुने भएकाले सरकारबाट सहयोगको अपेक्षा गरिएको सहभागीहरूले बताएका छन् ।

यस्तै, लामो समयदेखि सार्वजनिक सवारीको भाडा समायोजन नभएको विषय पनि व्यवसायीहरूले उठाएका थिए ।

कार्यस्थलमा चालक र सहचालकले यात्रुहरूलाई असल व्यवहार गर्नुपर्ने र अन्य सरोकारवालाको व्यवहार पनि सौहार्दपूर्ण बनाउनु पर्ने विषयमा समेत छलफल भएको थियो ।

बैठकमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङत बराल, प्रहरी उपरीक्षक नवीन कार्की, पोखरा उद्योग सङ्घका अध्यक्ष गोकर्ण कार्की, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, जिल्ला सुरक्षा समितिका पदाधिकारी, सरोकारवाला निकायका प्रतिनिधि तथा पोखरामा क्रियाशील विभिन्न यातायात व्यवसायी संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

उहाँहरूले आआफ्नो धारणा राख्दै यातायात व्यवस्थापन सुधारका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।

Author

Share the News

Recent News

Related News