मानव आवाज

२०८३ बैशाख १४ गते
00: 00: 00
२०८३ बैशाख १४ गते

कक्षा १२ परीक्षा सुरु, ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

पोखरा । माध्यमिक तह कक्षा १२ को वार्षिक परीक्षा आजदेखि देशभर सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ सय विद्यार्थी सहभागी हुँदैछन् ।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् ।

यस वर्षको परीक्षामा सहभागी हुने विद्यार्थी सङ्ख्या गत वर्षको तुलनामा घटेको छ । गत वर्ष ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने यस वर्ष ९२ हजार ७ सय २५ ले कमी आएको छ ।

गण्डकी प्रदेशमा १ सय ३ परीक्षा केन्द्रबाट (नवलपुर बाहेक) २७ हजार २३५ विद्यार्थी परीक्षा दिँदैछन् । जिल्लागत रूपमा मनाङ र मुस्ताङमा १-१, लमजुङमा ६, पर्वत र म्याग्दीमा ४-४, गोरखामा १०, स्याङ्जामा १२, तनहुँ र बागलुङमा १३-१३ तथा कास्कीमा ३९ ओटा परीक्षा केन्द्र तोकिएका छन् ।

देशभर कुल १ हजार ४ सय २१ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । साथै, जापानस्थित एभरेस्ट स्कुलका ३६ विद्यार्थी पनि यस वर्षको कक्षा १२ परीक्षामा सहभागी भएका छन् ।

बोर्डका अनुसार पछिल्ला वर्षहरूमा नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजामा सुधार आएकाले आंशिकतर्फ परीक्षार्थी सङ्ख्या घटेको हो । यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

फोटोः एसओएस गण्डकीबाट कक्षा १२ को परीक्षामा सहभागी परीक्षार्थीका साथमा शिक्षकहरू ।

Author

Related News