मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

छोरेपाटन माविमा होटल व्यवस्थापन अध्ययन हुने, स्थानीय विद्यार्थीलाई राहत

पोखरा । पोखरा महानगरपालिका-१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि होटल व्यवस्थापन (एचएम) समूहको पढाइ सुरु गर्ने भएको छ ।

विद्यालयले कक्षा ११ बाट उक्त विषय सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रारम्भिक चरणमा ४० जना विद्यार्थी भर्ना गर्ने योजना रहेको प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले जानकारी दिनुभयो ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण पोखरामा होटल व्यवस्थापन शिक्षाको आवश्यकता बढ्दो रहेको उल्लेख गर्दै प्रधानाध्यापक भुषालले भन्नुभयो-“यहाँ वर्षेनी लाखौं पर्यटक आउने गर्छन् । यही अवस्थालाई मध्यनजर गर्दै कक्षा ११ र १२ मा होटल व्यवस्थापन अध्ययन सुरु गर्न लागेका हौं ।”

उहाँका अनुसार एचएम् अध्ययनप्रति विद्यार्थीको आकर्षण बढ्दो छ र यस विषयमा अध्ययन गरेका विद्यार्थीहरू रोजगारीको अवसरबाट वञ्चित हुनुपर्दैन ।

विद्यालयले विद्यार्थी र अभिभावकको मागलाई ध्यानमा राख्दै यो कार्यक्रम सुरु गर्न लागेको स्पष्ट पारेको छ ।

हाल कक्षा ११-१२ मा विज्ञान, शिक्षा, व्यवस्थापन तथा सामाजिक विषयको पठनपाठन हुँदै आएको छ ।

चालु शैक्षिक सत्रमा सबै तह र विषयमा गरी करिब २ हजार ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सहायक प्रधानाध्यापक खेमराज बरालका अनुसार विद्यालय प्रविधिमैत्री बनाउँदै लगिएको छ भने नियमित रूपमा अतिरिक्त तथा सहक्रियाकलापहरू पनि सञ्चालन हुँदै आएका छन् ।

सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले होटल व्यवस्थापन अध्ययन सुरु भएसँगै छोरेपाटन, विरौटा, पुम्दीभुम्दी, कृस्ती र निर्मलपोखरी लगायत क्षेत्रका विद्यार्थीहरूलाई बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

Author

Related News