पोखरा । नयाँ वर्ष २०८३ को अवसरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाका दुई महत्वपूर्ण पूर्वाधार तथा सेवाको उद्घाटन तथा शुभारम्भ गर्नुभएको छ ।
नगर प्रमुख आचार्यले पोखरा-९ स्थित महानगरीय प्रहरी बलको ब्यारेक तथा विपद् तथा जोखिम न्यूनीकरण केन्द्रको उद्घाटन गर्नुभएको हो ।
उक्त केन्द्र स्थापना भएसँगै विपद् व्यवस्थापन तथा आपतकालीन तयारीमा थप सुदृढता आउने अपेक्षा गरिएको छ ।

यसैगरी, महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी निःशुल्क सटल बस सेवा पनि शुभारम्भ गरेको छ । उक्त सेवाको औपचारिक उद्घाटन पनि नगर प्रमुख आचार्यले नै गर्नुभएको हो ।
महानगर यातायात प्रालि, कृषि विकास बैङ्क र कामना सेवा विकास बैङ्कसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको यस सेवामा सुविधा सम्पन्न विद्युतीय बसहरू प्रयोग गरिएको छ ।
हवाई यात्रुहरूको सहज आवतजावतलाई ध्यानमा राख्दै सुरु गरिएको यो सेवा भरपर्दो, सुरक्षित र वातावरणमैत्री यातायात विकल्पका रूपमा विकास गरिने महानगरपालिकाले जनाएको छ ।
नगर प्रमुख आचार्यका अनुसार यसले विमानस्थल प्रयोग गर्ने यात्रुहरूलाई सरल र व्यवस्थित आवागमन सुविधा उपलब्ध गराउनेछ ।