पोखरा । पोखरा महानगरपालिका-८ सभागृहचोकमा एक युवतीको हत्या भएको छ । पर्यटकीय राजधानीको मुख्य बजार क्षेत्रमै दिनदहाडै भएको यस घटनाले सर्वसाधारणमा त्रास फैलाएको छ ।
२०८२ चैत २५ गते साँझ करिब ७ बजे भएको घटनामा एक युवकले पछाडिबाट धारिलो हतियार प्रहार गरी युवतीको हत्या गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
सभागृहचोकबाट शिवालयचोकतर्फ जाने गल्लीको दायाँपट्टि सडकपेटीमा उभिरहेकी ती युवतीमाथि आक्रमण गरिएको हो ।
आक्रमणपछि धारिलो हतियार प्रहार गर्ने युवक मोटरसाइकल चढेर फरार भएको जनाइएको छ ।
हत्या हुनेमा पोखरा-५ मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल केसी रहेको पुष्टि भएको छ । केसी पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आउनुभएकी एकल महिला रहेको प्रहरीले जनाएको छ ।
एक प्रत्यक्षदर्शीका अनुसार, “ती युवती उभिरहेकी थिइन्, अचानक पछाडिबाट प्रहार भयो । उनी चिच्याउँदै ढलिन् र आक्रमणकारी सवारी साधन चढेर शिवालयचोकतर्फ भाग्यो ।”
घटनापछि प्रहरीले मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको र सहरका मुख्य नाकाहरूमा कडाइ गरिएको जानकारी दिनुभएको छ । (साङ्केतिक तस्बिर)