पोखरा । “सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक” भन्ने मूल नाराका साथ १४औँ राष्ट्रिय हेमजा आलु महोत्सव–२०८२ आयोजना हुने भएको छ । हेमजा मा सञ्चालन हुने महोत्सव २०८२ चैत २७ गतेदेखि २०८३ वैशाख ५ गतेसम्म चल्नेछ ।
महोत्सवबारे २०८२ चैत २३ गते आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । कार्यक्रममा १४औँ राष्ट्रिय हेमजा आलु महोत्सव–२०८२ मूल आयोजक समितिका संयोजक तथा विष्णुपादुका क्लबका अध्यक्ष बसन्तकुमार श्रेष्ठले तयारी तीव्र पारिएको जानकारी दिनु भयो ।
उनका अनुसार हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीको बृहत् प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रूपमा देश तथा विदेशमा चिनाउने, साथै क्लब भवन, तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र र विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका–२५ का वडाध्यक्ष तथा महानगर प्रवक्ता मोतिलाल तिमिल्सिनाले महोत्सवका प्रमुख आकर्षणहरूबारे जानकारी दिनु भयो ।
उनका अनुसार आलु तथा ताजा तरकारीहरूको प्रदर्शनी, आलुको पहाड निर्माण, विभिन्न परिकारको स्वाद परीक्षण, माटो तथा बोटबिरुवा परीक्षण र रोग निदान सेवा प्रमुख रहनेछन् ।
यस्तै, कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूको प्रस्तुति, कृषक सम्मान तथा कृषि उपज, वीउ–विजन र कृषि यन्त्रको प्रदर्शनी समेत महोत्सवका अन्य आकर्षणका रूपमा रहनेछन् ।
मूल आयोजक समितिका संयोजक बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विपिन पौडेलले राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव विकल थापाले गर्नु भएको थियो ।