पोखरा । मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा दुई दिने तालिम सुरु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा चैत २० गतेदेखि “मानवअधिकार रक्षकका लागि क्षमता अभिवृद्धि तालिम” सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले मानवअधिकार संरक्षण र प्रवर्द्धनमा इन्सेकले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले मानवअधिकार, सामाजिक न्याय तथा आर्थिक सांस्कृतिक अधिकारबाट वञ्चित समुदायका लागि यस्ता तालिम फलदायी हुने उल्लेख गर्नुभयो ।
सभामुख धितालले नागरिक समाज र अधिकारकर्मीहरू एकजुट भएर आवाजविहीनहरूको आवाज बन्नुपर्नेमा जोड दिँदै समुदायमा भइरहेका विभेदका घटनामा पीडितलाई न्याय दिलाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
साथै, तालिमबाट नेतृत्व विकास, जनवकालतका रणनीति तथा मानवअधिकार सुनिश्चिततासम्बन्धी ज्ञान र सीप आर्जन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नागरिक मञ्च गण्डकीका संयोजक तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बरालले मानवअधिकारका आधारभूत सिद्धान्त, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विभेदका चुनौतीबारे चर्चा गर्नुभयो ।
उहाँले लैङ्गिक हिंसा जटिल सामाजिक समस्या भएकाले यसको समाधानका लागि कानुनी व्यवस्था मात्र नभई जनचेतना र व्यवहार परिवर्तन आवश्यक रहेको बताउनुभयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालयका प्रदेश संयोजक गणेश भण्डारीले तालिमको उद्देश्यबारे प्रकाश पार्दै संस्थाले मानवअधिकार अभिलेखीकरण, अनुगमन, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार प्रवर्धन र मानवअधिकार रक्षक सञ्जालमार्फत सरोकारवाला निकायसँग बहस पैरवी गरी सरकारलाई जबाफदेही बनाउन पहल गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय, पोखराकी प्रमुख नितु गर्तौला र कोपिला नेपालकी कार्यकारी निर्देशक विना शिलवालले महिला अधिकार, बालअधिकार, शिक्षा, स्वास्थ्य, जातीय विभेद, लैङ्गिक हिंसा तथा सङ्क्रमणकालीन न्यायका मुद्दामा नागरिक समाज र अधिकारकर्मीहरूले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा बैदेशिक रोजगारीमा जाने व्यक्तिको मानवअधिकार अवस्था, नेतृत्व विकास, समस्या पहिचान, सरोकारवालाको नक्साङ्कन, जातीय विभेद, लैङ्गिक हिंसाविरुद्धको कानुनी व्यवस्था, मानवअधिकार तथ्य सङ्कलन सीप तथा बालअधिकार संरक्षणलगायत विषयमा सहजीकरण गरिने जनाइएको छ ।
मानवअधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरि ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहसंयोजक जुना केसीले गर्नुभएको थियो भने सञ्चालन सचिव सावित्री अधिकारी घिमिरेले गर्नुभएको थियो ।
तालिममा मानवअधिकार रक्षक सञ्जालका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिसहित करिब ४० जनाको सहभागिता रहेको छ ।