मानव आवाज

२०८३ श्रावण ८ गते
00: 00: 00
२०८३ श्रावण ८ गते

एड्भान्स फोटो पत्रकारिता तालिम सुरु

पोखरा । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालय पोखराको आयोजना तथा नेपाल फोटो पत्रकार सङ्घ कास्कीको सहकार्यमा दुई दिने एड्भान्स फोटो पत्रकारिता तालिम मादी गाउँपालिकाको याङ्जाकोटमा सुरू भएको छ । तालिम २०८२ चैत १७ र १८ गते सञ्चालन भइरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस रजिष्ट्रार बिमला भण्डारीले सहभागी प्रशिक्षार्थीहरूको फोटो खिचेर तालिमको उद्घाटन गर्नु भयो ।

उद्घाटन समारोहमा बोल्दै भण्डारीले गण्डकी प्रदेशमा आमसञ्चार क्षेत्रको विकास, सञ्चारमाध्यमको स्वतन्त्रता र मर्यादा कायम राख्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले एउटा उत्कृष्ट तस्बिर हजारौँ शब्दभन्दा पनि शक्तिशाली हुने उल्लेख गर्दै समाचारमा फोटोको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गर्नु भयो ।

“फोटो पत्रकारको एक क्लिकले इतिहास, मानवीय संवेदना र समाजको यथार्थलाई एकै क्षणमा दस्तावेजीकरण गर्न सक्छ,” उहाँले भन्नु भयो ।

पछिल्लो डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी नक्कली तस्बिर बनाएर भ्रम फैलाउने प्रवृत्ति बढिरहेको भन्दै त्यसप्रति सचेत रहन उहाँले आग्रह गर्नु भयो । चुनौतीहरूलाई सामना गर्दै अघि बढ्नु फोटो पत्रकारहरूको दायित्व रहेको उहाँको भनाइ थियो ।

तालिमका मुख्य प्रशिक्षक फोटो पत्रकार हरि महर्जनले फोटो पत्रकारिताको सीप विकासका लागि यस्ता तालिम उपयोगी हुने बताउँदै फोटोग्राफी, फोटो पत्रकारिता तथा फोटो स्टोरीसम्बन्धी विषयमा सहजीकरण गर्नु भयो ।

त्यस्तै, प्रेस काउन्सिल सदस्य केशवशरण लामिछानेले फोटो क्याप्सन लेखनसम्बन्धी प्रशिक्षण दिनु भयो ।

कार्यक्रममा नेपाल फोटो पत्रकार सङ्घ कास्कीका संस्थापक अध्यक्ष घनश्याम पौडेल, पत्रकार कृष्णमणि बराल र दुर्गा रानामगरले फोटो पत्रकार आचारसंहिता, आधारभूत ज्ञान, फोटोका प्रकार, कम्पोजिसन तथा कानुनी पक्षबारे प्रस्तुति दिनुभएको थियो ।

यस अवसरमा नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधवप्रसाद बराल,  प्रेस रजिष्ट्रार कार्यालयका सहायक प्रशासकीय अधिकृत प्रेम पौडेल, लेखा अधिकृत सूर्यप्रसाद पौडेल तथा प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष मोतिसागर अधिकारीले समाचारमा फोटोले विश्वसनीयता थप्ने भएकाले यसको प्रयोग अनिवार्य भएको धारणा राख्नु भयो ।

नेपाल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राधिका कडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने सचिव धनबहादुर गुरूङ (सुमन) ले कार्यक्रम सञ्चालन गर्नुभयो ।

तालिममा पोखराका विभिन्न सञ्चार गृहमा आबद्ध करिब ४० जना फोटो पत्रकारहरूको सहभागिता रहेको छ । यसै अवसरमा नेपाल फोटो पत्रकार सङ्घ कास्कीको साधारणसभा समेत सम्पन्न भएको छ ।

Author

Share the News

Recent News

Related News