पोखरा । नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसको अवसरमा कास्कीमा आयोजित कार्यक्रममा तीन जना पत्रकार पुरस्कृत भएका छन् भने सहारा क्लब पोखरालाई संस्थागत सम्मान प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्दै पत्रकारहरूको क्षमता विकास, सुरक्षा र पेशागत मर्यादाको संरक्षणमा प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँले सूचना प्रविधिको तीव्र विकाससँगै मिडियाको विश्वसनीयता सबैभन्दा महत्वपूर्ण पूँजी भएको उल्लेख गर्दै फेक न्यूज, भ्रामक सूचना तथा सामाजिक सञ्जालको दुरुपयोगले पत्रकारितामा चुनौती थपिएको धारणा व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयमार्फत सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, डिजिटल साक्षरता विकास तथा सञ्चार माध्यमहरूलाई लोककल्याणकारी विज्ञापन वितरणलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यी कार्यक्रमहरू नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला समितिसँग समन्वयमा अघि बढाइएको उहाँले जानकारी दिनु भयो ।
कार्यक्रममा स्वर्गीय जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार एकराज गिरी सम्मानित हुनु भयो ।
उहाँ विगत २२ वर्षदेखि पोखरामा सक्रिय पत्रकारिता गर्दै आउनुभएको छ । यस्तै, सोही पुरस्कार २०८१ बाट पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) लाई सम्मान गरिएको छ ।
उहाँ समाधान दैनिकसँग आबद्ध हुनुहुन्छ । दुवै जनालाई जनही नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
त्यसैगरी, पोखरा पत्रकारिता सम्मान २०८१ बाट पत्रकार राजबहादुर गुरुङलाई नगद ५० हजार ५ सय ५५ रुपियाँ, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा संस्थागत सम्मान २०८२ बाट सहारा क्लब पोखरालाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारी, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल तथा प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष मोतिसागर अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव भूपाल गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।